विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” को भौतिक अन्तरवार्ता चरण सम्पन्न

राम्रो पालिका 37

असोज १८ , ललितपुर, विश्वकै पहिलो कृषि रियालिटी गेम शो “र” रिभोल्युसनरी एग्रिकल्चर वार’ (RAW: Revolutionary Agriculture War) को भौतिक अन्तरवार्ता चरण सफलतापूर्वक सम्पन्न भएको छ । ललितपुरको खोकनामा आयोजित यो कार्यक्रममा १०० जना किसान र कृषि प्राविधिक प्रतिस्पर्धीहरूलाई सहभागी गराइएको थियो ।


कार्यक्रममा किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विशेष प्रशिक्षण तथा अन्तरवार्ताको आयोजना गरिएको थियो । निर्णायक मण्डलमा डा. योगेन्द्र कुमार कार्की, राम शरण तिमल्सिना, र डा. नम्रता पाण्डे सहभागी थिए । सहभागीहरूलाई मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जियो कृषि, किंग्स कलेज, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विज्ञहरूले प्रशिक्षण दिएका थिए । कार्यक्रमका दौरानमा नेपालका परम्परागत कृषि अभ्यासहरूमा आधारित रमाइला खेलहरूमा समेत प्रतिस्पर्धीहरूको सहभागिता गराइएको थियो ।


‘रस् रिभोल्युसनरी एग्रिकल्चर वार’को पहिलो चरणमा १३९८ किसान र २४४ कृषि प्राविधिकले आवेदन दिएका थिए, जसबाट छानिएका १०० प्रतिस्पर्धीलाई अन्तरवार्तामा बोलाइएको हो । शोको निर्माण संस्था ई स्क्वायरले आगामी चरणहरूका लागि छनौंट प्रतिस्पर्धीहरूको विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिए ।


शोको प्रसारण हिमालय टेलिभिजन तथा ओ.एस.आर. रियालिटी युट्युब च्यानलमा हुनेछ । विजय बस्याल कार्यकारी निर्माता रहेको यो शोका कार्यक्रमका होस्ट राजेश हमाल हुन् भने निर्णायक मण्डलमा कृषि विज्ञहरू डा. योगेन्द्र कुमार कार्की, डा. नम्रता पाण्डे, र राम शरण तिमल्सिना रहेका छन् । हरेक एपिसोडमा विशेष थिमेटिक जज वा मेण्टरको रूपमा कृषि उद्यमी एवम् विज्ञहरूको पनि सहभागिता हुने छ । कार्यक्रमले समृद्धिका लागि नयाँ दृष्टिू भन्ने थिमलाई पछ्याउँदै कृषि मार्फत नेपालको आर्थिक समृद्धिको मार्गप्रशस्त गर्ने लक्ष्य लिएको छ ।
यस शोको आयोजना ललितपुर महानगरपालिका वडा नं. २१ को सहकार्यमा गरिएको हो भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूको सहयोग रहेको छ । मुख्य साझेदारहरूमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जियो कृषि, कृषि तथा वन विज्ञान विश्वविद्यालय, र किंग्स कलेज रहेका छन् ।
कार्यक्रमले कृषि उद्यमशीलता र नविनतामा आधारित विचारहरूलाई प्रोत्साहन गर्दै नेपालको ग्रामीण क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *