एशियाकै ठूलो महाशिला: करोडौंको लगानीमा बनेका पर्यटकीय पूर्वाधारले पर्यटकको आकर्षण बढाउँदै
पर्वत, लुंखुदेउराली — एशियाकै ठूलो महाशिला (ढुंगा) रहेको पर्वतको महाशिला गाउँपालिका–५, लुंखुदेउरालीमा करोडौंको लगानीमा बनाइएका पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाइरहेको छ। नेपाल सरकार, गण्डकी प्रदेश सरकार, र स्थानीय गाउँपालिकाको संयुक्त लगानीमा हालसम्म ७ करोडभन्दा बढीको लागतमा महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएको हो।
सदरमुकाम कुश्मा बजारबाट करिब ४० किलोमिटरको दूरीमा रहेको यस महाशिलालाई स्थानीयस्तरमा “मेहलढुंगा” नामले पनि चिनिन्छ। पर्यटकीय र धार्मिक महत्त्वको यो महाशिलालाई अवलोकन गर्न बढ्दो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन्। महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलका अनुसार यो महाशिलामा झण्डै सात करोड रुपैयाँभन्दा बढीको पूर्वाधार निर्माण गरिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ४ करोड १२ लाखको सहयोगमा आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर, र शौचालय जस्ता संरचना निर्माण गरिएको छ। यस्तै, गण्डकी प्रदेश सरकारको डेढ करोड रुपैयाँको लगानीमा एक सय आठ गौमुखी धारा, पदमार्ग, मुख्य गुफा, र पुराना संरचनाको संरक्षण पनि गरिएको छ। नेपाल पर्यटन बोर्डको ११ लाखको सहयोगमा ट्रष्ट भवन निर्माण गरिएको छ भने महाशिला गाउँपालिकाले सडक र अन्य पूर्वाधारमा थप लगानी गरेको छ।
अध्यक्ष पौडेलका अनुसार चालु आर्थिक वर्षमा संघीय मन्त्रालयले पनि डेढ करोड रुपैयाँ विनियोजन गरेको छ, जसले महाशिला परिसरमा पर्खाल निर्माण र आश्रम भवनमा आवश्यक सामग्री खरिद गर्न मद्दत पुग्नेछ।
पोखरा, स्याङ्जा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधै पहुँचयोग्य पक्की सडक बनेपछि धार्मिक र पर्यटकीय दृष्टिकोणले महाशिलामा पर्यटकहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। स्थानीय सरस्वती अधिकारीका अनुसार, एक पटक परिक्रमा गर्दा १० मिनेटभन्दा बढी समय लाग्ने यस महाशिलाको परिक्रमा गर्दा एक माना चामलको भात पक्ने भन्ने किम्वदन्ती रहेको छ।
एशियाकै सबैभन्दा ठूलो महाशिला मानिएको यो स्थलमा हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, र अक्षयतृतीया लगायत चाडपर्वमा मेला लाग्ने गर्दछ। महाशिला गाउँपालिकाको नाम समेत यस शिलाबाट नै राखिएको हो। हाल महाशिला परिसर झण्डै २० रोपनी क्षेत्रफलमा फैलिएको छ, जसमा स्थानीयबासीहरूले नि:शुल्क जग्गा दान गरेका छन्।
पछिल्लो समयमा बनेका आधुनिक संरचनाले यो पर्यटकीय स्थलको आकर्षणमा थप वृद्धि गराएको छ, र स्थानीय स्तरमा धार्मिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुने गरेका छन्। उचित प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको यो स्थल अब पर्यटकहरूको गन्तव्यको रूपमा स्थापित हुँदैछ।
प्रतिक्रिया (0)