नेपाल प्रहरीबाट निवृत्त विष्टको भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाख आम्दानी
धरान (सुनसरी) — नेपाल प्रहरीको सेवाबाट २०७७ सालमा निवृत्त भएका बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भएका छन्। प्रारम्भमा वैदेशिक रोजगारीमा जाने सोच बनाए पनि विष्टले विदेशको साटो आफ्नै देशमा केही नयाँ गर्ने अठोट गरे र कृषि क्षेत्रमा लागे। अहिले उनी भुइँकटहर खेतीमा सक्रिय छन् र आफ्नो निर्णयले ठूला उपलब्धिहरू दिएकोमा सन्तुष्ट छन्।
विष्टले एक विघा जमिनमा भुइँकटहर लगाएका छन् र यो खेतीले वार्षिक रु १५ लाखसम्मको आम्दानी दिने गरेको छ। करिब रु एक लाख खर्च कटाउँदा, उनी सजिलै रु १४ लाखसम्म बचत गर्न सक्ने बताएका छन्। उनले भने, “भुइँकटहरको बजारमा राम्रो माग छ, मूल्य पनि मनग्यै पाइन्छ। यस वर्ष मैले थप विरुवा लगाएको छु, त्यसैले अर्को वर्ष आम्दानीमा अझ वृद्धि हुने आशा छ।”
भुइँकटहर खेतीमा धेरै मेहनत नचाहिने र वार्षिक एकपटक गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने विष्टले बताए। उनले प्रति गोटा भुइँकटहर रु एक सयदेखि रु एक सय ५० सम्मको दरमा बिक्री गर्दै आएका छन्। माग अनुसार कतिपय व्यापारीहरू नै उनको फर्मसम्म आइपुग्ने गरेका छन्। बराहक्षेत्रमा भुइँकटहर खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीमा कुनै समस्या नभएको उनले जानकारी गराए।
विष्टीले विरुवाको बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारसम्म कमाउँदै आएका छन्। प्रति विरुवा रु १० देखि रु २० सम्म बिक्री हुने उनले बताए। विष्टीको व्यावसायिक भुइँकटहर खेतीका लागि नगरपालिकाले अनुदानस्वरूप रु ७७ हजार सहयोग गरेको छ।
नेपाल प्रहरीबाट निवृत्त भएर आफ्नो माटोमै भुइँकटहर खेतीबाट आर्थिक सफलता हासिल गरेका विष्टको यात्रा धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।
प्रतिक्रिया (0)