महिलाका लागि आम्दानीको आधार: घोँगी व्यापार
धरान — घोँगी व्यापारले धरान र आसपासका महिलाहरूको आम्दानीको स्रोत बन्ने क्रम बढ्दो छ। रामधुनी नगरपालिका–१ झुम्का हाटबजारमा विशेषगरी धेरै महिला यस व्यापारमा सक्रिय छन्, जसले उनीहरूको दैनिकी चलाउन मात्र नभई परिवारका अन्य आवश्यकता पूरा गर्न समेत सहयोग पुर्याएको छ।
वडा नं ५ की जमुना मुखियाले विगत लामो समयदेखि विभिन्न हटियाबजारमा घोँगी बेच्दै आउनुभएको छ। उहाँले सुनसरी जिल्लाको झुम्का, कालाबन्जरजस्ता हाटबजारहरूमा घोँगी बेच्न जाने गरेको बताउनुभयो। उहाँका अनुसार मोरङ्को निमुवा पोखरीबाट आफैंले घोँगी खोजेर बिक्री गर्नुभयो, जसले राम्रो आम्दानी दिन सफल भएको छ। उहाँ भन्छिन्, “मेहनत अनुसार राम्रो कमाई हुन्छ र यो अरू व्यापारको तुलनामा सजिलो पनि भएकाले म यसैमा लागिरहेकी छु। यो हाम्रो पुर्ख्यौली व्यापारजस्तै हो।”
मुखियाले झुम्का हटियाबाहेक कालाबन्जर र बराह क्षेत्रका बजारहरूमा पनि घोँगीको व्यापार गरिरहनुभएको छ। उहाँले थप्नुभयो कि अचेल घोँगी सहज रूपमा उपलब्ध छैन, त्यसैले मोरङको निमुवा पोखरी पुगेर खोज्नुपर्छ। कठिनाइ भए पनि उहाँ मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गरिरहनुभएको छ। उहाँले पोखरीमा पालेर बिक्री गर्न सक्ने भए अझै राम्रो आम्दानी हुने विश्वास व्यक्त गर्नुभयो।
झुम्कामा हरेक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्ने ग्राहकहरू बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायतका ठाउँहरूबाट आउँछन्। “माग अनुसार घोँगी पुर्याउनै धौधौ हुने गर्छ,” मुखियाले बताउनुभयो। उहाँले प्रतिकिलो रु १०० मा बिक्री गर्दै दिनमा ९० देखि १०० किलोसम्म घोँगी बिक्री गर्दै आएकी छिन्।
यसैगरी, रामधुनी नगरपालिका–१ की रत्नीदेवी माला विगत १२ वर्षदेखि घोँगीको व्यापारमा संलग्न रहँदै आउनुभएको छ। उहाँले भन्टाबारी पोखरीमा घोँगी पालेकी छन् र दैनिक ६० देखि ७० केजीसम्म घोँगी बिक्री गर्दै आउनुभएको छ। “चिसोयाममा घोँगीमा भएको भिटामिनले रुघा र चिसोको उपचारमा सहयोग पुर्याउने भएकाले यस मौसममा घोँगीको माग उच्च हुन्छ,” उहाँले बताउनुभयो।
रेम्नी मुखियाले पनि विगत सात वर्षदेखि यो व्यवसायमा संलग्न रहँदै आउनुभएको छ। उहाँले मोरङ्को निमुवा पोखरीमा आफ्नै घोँगी पालेकी छन् र दैनिक ७० देखि ८० किलोसम्म बिक्री गरेर राम्रो आम्दानी गरिरहनुभएको छ।
विशेषगरी जाडोयाममा घोँगीको व्यापार निकै फस्टाउँछ। पुसदेखि माघ–फागुनसम्म यहाँको हरेक हाटबजारमा किन्ने र बेच्नेहरूको भीड देखिन्छ। झुम्का हाटबजारमा मात्रै सातदेखि दस जना महिला लहरै बसेर घोँगीको व्यापार गरिरहेको दृश्यले यो व्यवसाय यहाँका महिलाहरूको लागि महत्वपूर्ण आयस्रोत बनेको पुष्टि गर्छ।
यसरी, घोँगी व्यापारले यी महिलाहरूको जीवनयापनमा नयाँ आर्थिक सम्भावना सिर्जना गर्दै आएको छ, जसले उनीहरूको सामाजिक र आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्याइरहेको छ।
प्रतिक्रिया (0)