जीवनी पढ्दा बहुआयामिक फाइदा

राम्रो पालिका 17

हिजोआज धेरै व्यक्तिले आफ्नो आत्मवृत्तान्त लेख्ने गरेका छन् । हामीले सफल, प्रतिष्ठित र महान् व्यक्तिहरू तथा राष्ट्रनिर्माता र विजेताहरूको जीवनी त बाल्यकालदेखि नै पढ्दै पनि आएका छौँ । पहिले पहिले विश्वविजेता र राष्ट्रिय विभूति, वैज्ञानिक, दार्शनिक, क्रान्तिकारी नेता, कलाकार, साहित्यकार आदिका जीवनी बढी लेखिन्थे । अहिले संसारका खर्बपति, सफल उद्योगपति र व्यवसायीका मात्र होइन हरेक कोही सामान्य नागरिकका पनि जीवनी लेख्ने र खोजेर पढ्ने प्रचलन देखिन्छ । यति भएर पनि आमरूपमा जीवनी र आत्मवृत्तान्त किन पढ्ने र कसरी पढ्ने भन्नेबारे त्यति महत्व दिएको पाइँदैन । कतिपय जीवनी लेखाइमा व्यक्तिको बढी गुनगान मात्र पाइन्छ भने कतिपय जीवनी मिति, नाम र घटनाहरू मात्र उल्लेख गर्नाले निरश र जटिल हुने गरेका छन् । 

कतिपयले जीवनीको अध्ययन गर्दा हुने बहुआयामिक फाइदालाई बेवास्ता गर्छन् । विज्ञान, साहित्य, इतिहास, दर्शन र अझ विज्ञानको कल्पनाका अनेकन पुस्तकमा रमाउनेहरूले जीवनीको अध्ययनमा त्यति रुचि देखाएको पाइँदैन । जीवनीको अध्ययन यति बृहत्, महत्वपूर्ण र रोचक हुन्छ कि यसले साँच्चै नै हाम्रो अध्ययनलाई सरलीकृत मात्र गर्दैन बुझाइलाई पनि जीवन्त र यथार्थपरक बनाउँछ । धेरैलाई जीवनी बेकारको बढाइ जस्तो लाग्छ । कतिपयलाई खल्लो लाग्न सक्छ । धेरैले जीवनी नरुचाउनुको कारण यसको लेखाइमा भएका कमजोरी पनि हो । जीवनी लेखन खासमा जुन जुन विषयमा केन्द्रित हुनुपर्ने हो, जसरी शृङ्खलाबद्ध आउनुपर्ने हो र जे जे क्षेत्र समेटिनुपर्ने हो त्यसो भएन भने त्यसबाट अपेक्षित लाभ लिन सकिन्न । साँच्चै खल्लो पनि हुन्छ । 

जीवनी पढ्दा हामी ऐतिहासिक सन्दर्भ, मुख्य योगदान, ती विषय र व्यक्तिको सान्दर्भिकता, सफलता अनि असफलताका अनुभव खोज्छौँ । यी नै जीवनी लेखन र अध्ययनका मूलभूत विषय हुन् तर धेरै जीवनी लेखन र अध्ययन सामान्य रूपमा जन्म मिति, जन्म स्थान, आमाबुबाको परिचय जस्ता विषयमा बढी केन्द्रित हुने गर्छन् । खासमा जीवनी व्यक्तिको परिचयका साथै उसको योगदान, त्यस समयको समाजको वस्तुस्थिति तथा उक्त व्यक्तिको सङ्घर्षमय जीवनका सफलता असफलताबाट सिक्नुपर्ने पाठमा केन्द्रित हुनु पर्छ । जीवनी अध्ययनलाई ऐतिहासिक सन्दर्भमा जोडिएन भने बुझाइ अपूर्ण हुन्छ । यसले अध्ययनलाई खल्लो बनाइदिन्छ । सङ्घर्षका कथा र असफलताको व्याख्याबिनाका विवरण पढ्दा आफ्नो जीवनसँग जोडिँदैन र व्यावहारिक पनि लाग्दैन । त्यतिबेला यो कथा जस्तो मात्र लाग्छ, यथार्थको अनुभूति हुँदैन । फेरि जीवनीमा पनि बढाइचढाइ गर्ने, राम्रा र सफलताका विषय मात्र उल्लेख गर्ने, परिवेश व्याख्या नगर्ने तथा योगदान र सिकाइलाई विश्लेषण नगरी एकतर्फी व्याख्या गर्ने प्रवृत्ति देखिन्छ, जुन राम्रो होइन । आजकल कतिपय आत्मवृतान्त पढ्दा आत्मकेन्द्रित र अतिरन्जित वर्णन पनि पाइन्छन् । 

जीवनी किन पढ्ने ?

जीवनबोध : मानिसले अध्ययनका साथै अनुभवबाट पनि सिक्छ । हामीले व्यक्तिका अनुभवबाट प्राप्त गर्ने शिक्षा व्यावहारिक र यथार्थपरक लाग्छ । जीवनीले व्यक्तिको समग्र जीवनको बुझाइ प्रस्तुत गर्छ । यसमा उनीहरूको सङ्घर्ष, विजय, चुनौती र अवसर रहेका हुन्छन् । यसले हामीलाई समग्रतामा जीवनलाई बुझ्न सहयोग पु¥याउने महत्वपूर्ण खुराक समेटिएका हुन्छन् । 

मानवोचित गुण : धेरै जीवनीले मानवोचित गुणको विकास गर्न सघाउँछ । मानिसको जीवनमा प्रतिकूलताको सामना गर्दा लगनशीलता, कर्मठता र धैर्य आवश्यक पर्छ । अरूले कसरी चुनौती पार गरेछन् भन्ने सङ्घर्षबारे जानेर नै मानव आफ्नो जीवनप्रति उत्प्रेरित रहन सक्छ । त्यसैले जीवनलाई कसरी अघि बढाउने, सफल कसरी बन्ने भन्ने मानवीय गुणहरू अटाएका हुन्छन् । 

इतिहासको ज्ञान : जीवनीले प्रायः व्यक्तिलाई उनीहरूको समयको फराकिलो सन्दर्भमा चिनाउँछ । ऐतिहासिक घटना र परिवर्तनलाई त्यही परिवेश र वस्तुस्थितिमा बुझ्न मद्दत गर्छ । खासमा त्यस समयको समाज, संस्कृति र इतिहासलाई नजानी व्यक्तिको जीवनी बुझिँदैन । यसैले व्यक्तिको जीवनीले इतिहासको सरल ज्ञान गराउँछ । 

कर्तव्यबोध : अरूको जीवनसँगको अन्तर्घुलनले आफ्नो दृष्टिकोण र विचारलाई फराकिलो बनाउँछ । अन्य व्यक्ति र समाजप्रति सद्भाव र समानुभूति बढाउँछ । हामीलाई विभिन्न दृष्टिकोण र संस्कृतिको कदर गर्न सिकाउँछ । जीवनीले मानवीय कर्तव्यबोध गराउने विविध सामग्री समेटेको हुन्छ ।

प्रेरणाको स्रोत : व्यक्तित्व (रोल मोडेल) भनेका प्रेरणाका स्रोत हुन् । जीवनीले हामीले प्रशंसा गर्ने गुणको उदाहरण दिन्छ । तिनको सङ्घर्षशील जीवनभित्र साहस, रचनात्मकता, शान्ति, संयम, क्रान्तिकारिता वा नेतृत्व क्षमता, सकारात्मक सोच, विद्रोह जस्ता गुणहरू सिकाउने समग्री रहेका हुन्छन् ।

व्यक्तित्व विविधता : जीवनीले विश्वमा विभिन्न क्षेत्रका महान् व्यक्तिहरूको परिचय दिन्छ । यसमा तिनका योगदानलाई सिलसिलाबद्ध, यथार्थपरक, समाज र संस्कृति सापेक्ष आदि रूपमा बुझ्न पाइन्छ । इतिहास वा सिद्धान्त पढेर मात्र व्यक्तिगत र सामाजिक परिवेश थाहा पाइँदैन । तसर्थ जीवनी व्यक्तित्व विविधताको बोध गराउने भरपर्दो सामग्री मानिन्छ ।

आलोचनात्मक चेत : एक व्यक्तिको जीवनको विश्लेषणले मानिसमा निर्णय निर्माण, नेतृत्व क्षमता, सफलताका सूत्र जस्ता क्षमताको विकास गर्छ । त्यसैले जीवनीमा के कुराले समाजमा कस्तो प्रभाव पारेको हुन्छ र गलत वा सही कुरा के के हुन् भन्ने विश्लेषणात्मक र आलोचनात्मक चेतलाई जगाइदिने विषय समेटिएका हुन्छन् ।

युगबोध : जीवनीले कथाको रूपमा इतिहास र ऐतिहासिक घटनाक्रम, युगको चाहना र संवोधन, समयानुकूल योगदान, वरपरको समाज र संसार, चिन्तनशीलता, तुलनात्मकता आदि कुराको जानकारी गराउने हुँदा युगबोध यसको मुख्य क्षेत्र मानिन्छ । 

जीवनी अध्ययनको औचित्य 

पाठकले जीवनीमा असाधारण व्यक्तिको जीवन, उनीहरूका खोज र अन्वेषणबारे प्रेरणा पाउँछन् । उनीहरूलाई आफ्ना सपना पछ्याउन, अवरोध पार गर्न र महानताका लागि प्रयास गर्न प्रोत्साहित गरिन्छ । थोमस अल्वा इडिसनको जीवनीबाट पाइने शिक्षा भनेको सयौँ पटकको असफल प्रयासपछि पनि हार नमान्नु हो । बिजुलीको बल्ब आविष्कार गरेका इडिसनले सयौँ पटक असफल परीक्षण गरेका थिए तर हार मानेनन् । सानो छँदा सुस्त मनस्थितिको भनी हेपिएका अल्वर्ट आइन्टाइन संसारकै महान् वैज्ञानिक बने । कार्ल माक्र्सको जीवनीको अध्ययनबाट १९ औँ शताब्दीको युरोप र पुँजीवादलाई बुझ्न सकिन्छ । त्यसकै आधारमा उनको दर्शन बुझ्न सरल र सहज हुन्छ । सर्जकको सिर्जनालाई बुझ्न पनि जीवनी महत्वपूर्ण रहन्छ । भूपि शेरचन, पारिजात जस्ता नेपाली साहित्यकारका सिर्जना, जीवनी, विचार र सङ्घर्षलाई सामाजिक पृष्ठभूमिबिना निकै कम बुझिन्छ । पारिजात एक प्रगतिशील विचार राख्ने र व्रmान्तिकारी चेतकी लेखक हुन् भन्ने पृष्ठभूमि थाहा भए उनका सिर्जनालाई निकै गहिराइमा विश्लेषण गर्न सकिन्छ । 

जीवनीभित्रका मनमोहक सन्दर्भले मुख्य गरी बालक र युवामा व्यक्तिगत वृद्धि र विकासको स्रोतका रूपमा काम गर्छन् । यो पढ्दा पाठकलाई उल्लेखनीय व्यक्तिको अनुभवबाट बहुमूल्य अन्तर्दृष्टि र संवेदना प्राप्त हुन्छ । पाठकले उनीहरूको सफलता, गल्ती र सिद्धान्तबाट सिकेर आफ्नो जीवनलाई सरल बनाउन सक्छन् । त्यसपछि तिनीहरू अझ राम्रो निर्णय लिन र थप लचिलो र अनुकूलित बन्न सक्षम हुने छन् । जीवनीले पाठकलाई विविध संस्कृति, पृष्ठभूमि र परिप्रेक्ष्यको गहिरो बुझाइ प्राप्त गर्ने अनौठो अवसर प्रदान गर्छन् । अरूको कथामा आफूलाई डुबाएर वा समाहित भएर समानुभूति, सहिष्णुता र करुणाको विकास गर्छन् । व्यक्तिगत वृद्धिलाई बढावा दिन्छन् र अन्तरसम्बन्धको भावनालाई बढावा दिन्छन् । जीवनी कृतिम हुँदैन । यसमा सफलता मात्र होइन असफलता, सिकाइ, सङ्घर्ष जस्ता पक्षहरू रहेका हुन्छन् । 

मानव सभ्यताको गुणस्तर धेरै हदसम्म व्यक्तिगत जीवनको गुणस्तरमा निर्भर गर्छ । जीवनी र जीवनकथा मानव संस्कृतिको आधारभूत दस्ताबेज बन्ने गरेको छ । जीवनी पठनले मानिसका सबै विगतका अनुभव पस्कन्छ र वर्तमानलाई अभिप्रेरित गरिरहन्छ । त्यसैले यो विगत र वर्तमानको सेतु हो । जीवनी अध्ययनको महत्व ठुलो छ ।

प्रमेश पोखरेल काे याे लेख गाेरखापत्रबाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *