पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द

राम्रो पालिका 15

दमौली, तनहुँ।
पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द गरिने भएको छ।

निर्माणाधीन मुग्लिन–पोखरा सडक अन्तर्गत छिर्कने–देउराली खण्डको कामलाई तीव्रता दिन मंसिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवागमन रोक्न लागिएको हो। मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार सडक दुई चरणमा बन्द गरी काम गरिनेछ।

पाण्डेले जानकारी दिएअनुसार,

  • राति ११ बजेदेखि बिहान १ बजेसम्म: सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य हुनेछ।
  • राति १ बजेदेखि १:३० बजेसम्म: सवारी आवागमन खुला हुनेछ।
  • राति १:३० बजेदेखि बिहान ४ बजेसम्म: पुनः सडक बन्द गरी निर्माण कार्य हुनेछ।

आकस्मिक अवस्थामा विशेष व्यवस्था गरेर सवारी पास गराइने पनि उनले जानकारी दिए।

पाण्डेले भने, “निर्माण कार्यलाई तीव्रता दिनका लागि छिर्कने–देउराली खण्डमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनका लागि पूर्ण रूपमा बन्द गरिनेछ।” उनले सवारी रोक्दा तथा चलाउँदा लेन अनुशासन कडाइका साथ पालन गर्न र सवारी लामबद्ध भएको अवस्थामा ओभरटेक नगर्न आग्रह गरेका छन्।

प्रगतिसँगै चुनौतीहरू
मुग्लिन–पोखरा सडकखण्ड (पूर्वी खण्ड) मा हालसम्म ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ। पाण्डेका अनुसार,

  • १४ वटा साना पुल निर्माण सकिएको छ।
  • २ ठूला पुल र १०३ वटा कल्भर्ट निर्माण भइसकेको छ।
  • व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको ४५ प्रतिशत काम सम्पन्न भएको छ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको हो। यस खण्डको निर्माण जिम्मा चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले लिएको छ।

#पृथ्वीराजमार्ग

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *