नेपाल र चीनबीच बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) मा सहमति, परराष्ट्र सचिवद्वारा हस्ताक्षर हुने तयारी

राम्रो पालिका 11

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) अन्तर्गत सहमति भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँगको द्विपक्षीय भेटवार्तापछि सहमति सम्पन्न भएको हो।

पहिले तयार गरिएको बीआरआई कोअपरेसन फ्रेमवर्कमा ‘ग्रान्ट’ (अनुदान) शब्द प्रयोग गरिएकामा चीनले त्यसप्रति असहमति जनाएको थियो। चीनले सबै परियोजनाहरू अनुदानमा गर्न नसकिने बताएपछि नेपालले फ्रेमवर्कमा संशोधन गर्दै ‘एड’ (सहायता) शब्द समावेश गरेको हो।

स्रोतका अनुसार, सहायता शब्द समावेश भएपछि दुवै देशको सहयोगप्रतिको बुझाइमा सहमति जुटेको छ। यद्यपि, बीआरआई अन्तर्गत गरिने परियोजनाहरूको अन्तिम निर्णय हुन बाँकी छ।

प्रधानमन्त्रीको भ्रमण दलका एक सदस्यले जानकारी दिएअनुसार कुन-कुन परियोजनाहरू चीनले बीआरआई अन्तर्गत नेपाललाई प्रदान गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। सहमति सम्पन्न भएपछि नेपालका तर्फबाट परराष्ट्र सचिवले दस्तावेजमा हस्ताक्षर गर्नेछन्।

संयुक्त प्रेस वक्तव्य जारी गर्ने तयारी पनि भइरहेको छ। केही समयभित्रै हस्ताक्षर प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *