टीआरसीका आयोगमा पदाधिकारी सिफारिस गर्न समिति असफल, प्रक्रिया फेरि सुरु गर्नुपर्ने

राम्रो पालिका 9

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति निष्कर्षमा पुग्न असफल भएको छ। समितिको असफलतासँगै अब सरकारलाई पुनः सुरुदेखि प्रक्रिया थाल्नुपर्ने अवस्था आएको छ।

सर्च कमिटीले २०७९ साउनदेखि पदाधिकारीविहीन रहेका दुई आयोगका लागि अध्यक्ष र सदस्य सिफारिस गर्ने जिम्मेवारी पाएको थियो। तर आइतबार बसेको सर्च कमिटीको बैठक पटक–पटक निर्णयविहीन बन्दै सोमबार पनि निष्कर्षमा पुग्न सकेन। समितिले म्याद सकिनु अघि सरकारलाई नयाँ सिफारिस समिति बनाउन सिफारिस गरेको छ।

समिति असफलताको कारण र असर

सर्च कमिटीका प्रवक्ता खम्बबहादुर खातीले जारी गरेको सूचनामा सिफारिस प्रक्रियामा समितिभित्र सहमति जुट्न नसकेको उल्लेख गरिएको छ। अल्पमत/बहुमतको आधारमा निर्णय गर्दा शान्ति प्रक्रियामा दूरगामी असर पर्ने भन्दै प्रक्रियालाई थप विश्वसनीय बनाउन पुनः प्रारम्भ गर्न सुझाव दिइएको छ।

खातीको सूचनामा भनिएको छ, “सिफारिस समितिभित्र मतैक्य हुन नसकेकोले उपयुक्त व्यक्तिहरूको खोजीलाई अझ प्रभावकारी र व्यापक बनाउनुपर्ने आवश्यकता छ।”

सिफारिस प्रक्रियामा रहेका उम्मेदवार

टीआरसी र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्य पदका लागि १५६ जनाले आवेदन दिएका थिए। त्यसमध्ये ८ जना अध्यक्षका दाबेदारसहित ३९ जनालाई सर्टलिस्ट गरिएको थियो। अध्यक्षका दाबेदारमा सुदीप पाठक, डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल परेका थिए।

सर्च कमिटीको संरचना र नेतृत्व

पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सर्च कमिटीमा खम्बबहादुर खाती, मनोज दुवाडी, डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य थिए। तर समितिको अनिर्णय र नेतृत्वको कमजोरीले संक्रमणकालीन न्याय प्रक्रियामा थप विलम्ब गराएको छ।

पीडितका लागि न्याय अझै टाढा

नेपालको सशस्त्र द्वन्द्वबाट पीडित बनेका घाइते, बेपत्ता र अन्यायमा परेकाहरूको न्यायका लागि गठन गरिएका दुई आयोगमा पदाधिकारीविहीन अवस्था दुई वर्षभन्दा लामो समयदेखि जारी छ। सिफारिस समितिको असफलताले पीडितहरूको न्यायको प्रतीक्षा अझै लम्बिन सक्ने देखिएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *