मुगुमा चिसोबाट बच्न न्यानो कपडा वितरण

राम्रो पालिका 5

मुगु जिल्लाको दलित बस्तीका नागरिक र विद्यार्थीलाई चिसोबाट बच्नका लागि न्यानो कपडा वितरण गरिएको छ। काठमाडौंको नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शविकुमार पन्तको सहयोग र मुगुमा क्रियाशील सञ्चारकर्मी नन्दबहादुर रोकायाको समन्वयमा यो अभियान चलाइएको हो।

पन्त र रोकायाको पहलमा मुगुकाे कार्मारोङ गाउँपालिकाका नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापु गाउँका दलित समुदायसँगै उक्त गाउँमा रहेको नमूना आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरिएको हो।

पन्तले मङ्गलबार मुगुम कार्मारोङ–९ नेपाल राष्ट्रिय आधारभूत विद्यालय छायलमा १२८ विद्यार्थीलाई न्यानो कपडा वितरण गरे। साथै, छायानाथ रारा–१३ लापु दलित बस्तीका ३० विद्यार्थीलाई र लापुस्थित नमूना आधारभूत विद्यालयमा अध्ययनरत अन्य ३० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री सहयोग प्रदान गरिएको छ।

लापु गाउँको दलित बस्तीमा चिसोको समस्या बढी रहेको र विद्यार्थीहरूको पठनपाठनमा कठिनाइ आएको समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए। त्यसपछि पन्तले आफ्नो साथीहरूसँग मिलेर विपन्न, दलित समुदायका बालबालिकालाई न्यानो कपडा र स्टेशनरी सामग्री सहयोग गर्ने निर्णय गरेका थिए।

समाजसेवी शविकुमार पन्तले भने, “सहयोगको अभियानमा वैदेशिक रोजगारीमा रहेका साथीहरूको पनि सहयोग प्राप्त भएको छ र यो सहयोगले चिसोको कष्ट सहन गाह्रो हुने विद्यार्थीहरूको पठनपाठनमा केही हदसम्म सहजता ल्याउने आशा छ।”

यो पहलले मुगुका नागरिक र विद्यार्थीहरूको जीवनमा न्यानो र समृद्धि ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *