बंगलादेशलाई हराउँदै भारतले उपाधि जित्यो
काठमाडौँ। भारतले एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको छ। आइतबार मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनल खेलमा भारतले बंगलादेशलाई ४१ रनले पराजित गर्दै उपाधि जितेको हो।
पहिले ब्याटिङ गर्दै भारतको ११७ रन
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११७ रन बनायो। भारतका लागि ओपनर गोनगादी तृषाले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा दुई छक्का र पाँच चौकासहित ५० रन बनाएर टोलीलाई मजबुत स्थितिमा पुर्याइन्। उनको उत्कृष्ट प्रदर्शनका लागि प्लेयर अफ दि म्याच घोषित गरियो।
मध्यक्रमकी ब्याटर मिथिला विनोदले १७ रन जोडिन् भने कप्तान निकी प्रसादले १२ रनको योगदान गरिन्। आयुषी शुक्लाले १० रन बटुल्दै टोलीको स्कोर उकास्न भूमिका खेलिन्। अन्य ब्याटर भने दोहोरो अंकमा पुग्न सकेनन्।
बंगलादेशका बलरहरू मध्ये फर्जना एस्मिनले चार विकेट लिएर प्रभावशाली प्रदर्शन गरिन्। उनले चार ओभरमा ३१ रन खर्चेकी थिइन्। निषिता अख्तर निसीले दुई विकेट हात पारिन् भने हबिबा इस्लामले एक विकेट लिइन्।
बंगलादेशको ७६ रनमै अलआउट
जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले १८.३ ओभरमै अलआउट हुनुअघि ७६ रन मात्र बनाउन सक्यो। बंगलादेशका लागि जुरिया फर्दुसले सर्वाधिक २२ रन जोडिन्। उनले ३० बलमा तीन चौका प्रहार गरिन्। ओपनर फाहोमिदा चोयाले १८ रन बनाउँदै केही योगदान गरिन्। तर, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका लागि बलर आयुषी शुक्लाले ३।३ ओभरमा १७ रन दिएर तीन विकेट लिँदै बंगलादेशको पारीलाई ध्वस्त बनाइन्। पारुनिका सिशोदिया र सोनम यादबले समान दुई–दुई विकेट लिएर टोलीको जित सुनिश्चित गराए।
नेपाली टोलीको प्रदर्शन
यो प्रतियोगिताको पहिलो संस्करणमा नेपालले तेस्रो स्थान हात पारेको छ। नेपाली टोली ‘सुपर–४’ चरणबाट बाहिरिए पनि, आफ्नो प्रदर्शनले उत्साहजनक सम्भावना देखाएको छ। श्रीलंका चौथो स्थानमा रह्यो भने आयोजक मलेसिया र पाकिस्तान संयुक्त रूपमा पाँचौँ स्थानमा रहे।
एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको यस सफल सुरुवातले आगामी दिनमा महिला क्रिकेटको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया (0)