क्रसर व्यवसायीको राष्ट्रिय महाधिवेशन कात्तिक ३० गते बर्दिबासमा हुने
२५ कात्तिक, काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन यही कात्तिक ३० गतेदेखि महोत्तरीको बर्दिबासमा हुने भएको छ। दुई दिनसम्म चल्ने यस महाधिवेशनमा नयाँ नेतृत्व चयन हुने महासंघका सहसचिव मिनबहादुर शाहीले जानकारी दिए।
महासंघको २१ सदस्यीय कार्यसमिति हुने व्यवस्था रहेको छ, जसको कार्यकाल तीन वर्षको हुन्छ। हाल कार्यरत समितिको नेतृत्व सिताराम न्यौपानेले गरिरहेका छन्, जसलाई २०७७ माघ २० गते बुटवलमा भएको महाधिवेशनबाट चयन गरिएको थियो।
साधारण सभा तथा महाधिवेशनमा देशभरका ७८० प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। बर्दिबासमा हुन गइरहेको यो कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ। महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने तयारी छ।
यस महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू तथा स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको समेत सहभागिता रहनेछ।
महासंघको स्थापना देशभरका क्रसर, बालुवा र खानी उद्योग व्यवसायीलाई एकताबद्ध गर्ने र उनीहरूका हकहितको प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको थियो। महाधिवेशनमार्फत् विगतमा दर्ता भएका तर हाल नवीकरण नभएका खानी तथा क्रसर उद्योगहरूको नवीकरण प्रक्रिया सहज बनाउने, मुख्य मागहरू सम्बोधन गर्ने नीति तथा कार्यक्रम र भविष्यका योजना तयार पारिनेछ।







प्रतिक्रिया (0)