म्याग्दी सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको छ ।
यसअघि सहरी स्वास्थ्य केन्द्रको भवन सानो र साँघुरो तथा बाढीपहिरो एवं भूकम्पको जोखिममा परेपछि नयाँ भवन बनाइएको हो । ग्लोबल केयर जर्मनबाट भवन तथा गेट निर्माण, शौचालय र सहरी स्वास्थ्य केन्द्रलाई आवश्यक औषधी तथा उपकरण सहयोग गरी असल छिमेकी नेपालमार्फत झण्डै २७ लाख रुपैयाँ लगानी भएको छ । स्थानीयको आवश्यकता, चाहना, वडा र बेनी नगरपालिकाको पहलमा भवन निर्माण गरी हस्तान्तरण गरिएको छ ।
नवनिर्मित भवनको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी र उपप्रमुख ज्योति लामिछानेले उद्घाटन गरे ।
कार्यक्रममा बेनी नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष गोविन्द बानियाँले नयाँ भवनको संरक्षण गर्ने जिम्मेवारी आम समुदायको रहेकाले असल छिमेकी नेपालसँग आगामी दिनमा पनि सहकार्य गरिने बताए ।
असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्र अधिकारीले भवन निर्माण, आर्थिक विवरण र औषधीलगायत विषयमा स्पष्ट पारेका थिए । कार्यक्रममा पोखरा क्रिस्चियन समाजका अध्यक्ष कालु तामाङ, भवन निर्माण समितिका अध्यक्ष गिरेन्द्र बानियाँ र स्थानीय मुक्तिबहादुर खड्काले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रम असल छिमेकी नेपालका कार्यकारी अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षता र कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो ।







प्रतिक्रिया (0)