लमजुङको विपन्न बस्तीमा ग्रामीण पोषण कार्यक्रम

राम्रो पालिका संवाददाता 72

नवीनराज कुइँकेल

लमजुङ । लमजुङको चार वटा पालिकाको विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

कृषि ज्ञान केन्द्र, लमजुङको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्र्तगत विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको हो । ग्रामिण क्षेत्रमा पोषण सुरक्षाका दृष्टिकोणले संवेनशील समुदायमा पोषकतत्वको उपभोग बढाउने तथा स्थानीय खाद्यवस्तु उत्पादनमा विविधिकरण गरी खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउने अभिप्रायले यो कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले जानकारी दिनुभयो ।

ज्ञान केन्द्रले राइनास नगरपालिका वडा नं ८ स्थित पिपल्टारीको गन्धर्व बस्ती, दोर्दी गाउँपालिका वडा नं ९ को धैरेनी टोलको दलित समुदाय, दुधपोखरी गाउँपालिका–५ को गौंडा र ६ को भीरकुनामा रहेको विपन्न समुदायमा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

चार वटै वडामा पच्चिस-पच्चिस घरधुरीलाई समेटेर ताजा तरकारी खेती, कुखुरापालन, मौरी पालन जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । समुदायलाई कूल लागतको ९० प्रतिशत अनुदान दिइएको ज्ञान केन्द्रका सूचना अधिकारी कृषि प्रसार अधिकृत सरोज थापाले जानकारी दिनुभयो ।

यसैगरी मस्र्याङ्दी गाउँपालिकाको वडा नं. १ घनपोखरा सेने गाउँको उन्नति महिला कृषक समूहमा जलबायुमैत्री प्रविधि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख खतिवडाले बताउनुभयो । सो समूहमा आवद्ध पच्चिस जना महिला कृषकमाझ आयआर्जनका लागि कृषि कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

किसानहरुलाई खेती र पोषण सुरक्षा सम्बन्धी तालिम दिनुको साथै प्रति घर मौरी सहितको घार, खाली मौरी घार, तरकारीको विउविजन, सिञ्चाई सामाग्री, विषाधी छर्कने स्प्रेयर लगायतका बीस हजार रुपियाँ बराबरको सामाग्री वितरण गरिएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

कार्यक्रम सञ्चालनका लागि खाद्य तथा पोषण सुरक्षाका दृष्टिले तुलनात्मक रुपमा बढी संवदेनशील रहेका क्षेत्र छनौट गर्नुपर्ने कार्यविधि रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमखको अध्यक्षतामा जनस्वास्थ्य कार्यालय, जिल्ला समन्वय, भेटेरिनरी अस्पताल, खाध्य पाषणका क्षेत्रमा काम गर्ने संघसंस्थाको प्रतिनिधि रहेको छनौट समिति रहने छ ।

यो कार्यक्रम सञ्चालन गर्नका लागि भौगोलिक विकटता, प्राकृतिक प्रकोपको असर, न्युन आय भएका समूदाय, खाध्य तथा पोषण सुरक्षाको अबस्था जस्ता सूचकलाई आधार मानेर समुदाय छनौट गरिएको ज्ञान केन्द्रका प्रमुख खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *