कोहलपुरमा भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण सुरु

राम्रो पालिका संवाददाता 43

सिराज खान

नेपालगन्ज । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई लालपुर्जा वितरण सुरु गरिएसँगै अन्य पालिकामा पनि वितरणको तयारी तिव्र पारिएको छ ।

सो क्रममा जिल्लाका विभिन्न पालिकाहरुमा लालपूर्जा वितरणका लागि सरकारी जग्गा नापजाँच, लगत संकलन र लालपूर्जा तयार पार्ने कार्य तिव्र पारिएको भूमि समस्या समाधान आयोग बाँकेले जनाएको छ ।

भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले कोहलपुरमा पहिलो चरणमा भूमिहीन र सुकुम्वासीलाई लालपूर्जा बितरण गरिसकिएपछि भूमिहीनहरुमा लालपूर्जा पाउने विश्वास बढेको बताउनुभयो । उहाँले सोही कारणले जिल्लाका अन्य पालिकाहरुमा पनि भूमिहीनहरुले लालपूर्जाका लागि आयोगसँग समन्वय र सम्पर्कलाई पनि तिव्र पारेको बताउनुभयो ।

आयोगका अनुसार जिल्लाको नेपालगन्ज, डुडुवा, जानकी, राप्ती सोनारी, बैजनाथ नरैनापुर र खजुरामा लालपूर्जा वितरणका लागि सरकारी जग्गा नाप जाँच गरेर छुट्याउने, लगत संकलन गर्ने र प्रक्रिया पुरा भएकाहरुको लालपूर्जा तयार पार्ने कार्य तिव्र रुपमा चलिरहेको छ । सोही क्रममा जानकी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम पुनः सुरु गरेको जनाएको छ ।

भूमि समस्या समाधान आयोग बाँकेले जग्गा नापजाँचको काम छिटो पुरा गर्न आग्रह गरेपछि रोकिएका जग्गा नापजाँचको कामलाई पुनः सुरु गरिएको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले बताउनुभयो । जानकी गाउँपालिकाको वडा नम्बर पाँच रामगाउँबाट जग्गा नापजाँच कार्यको सुभारम्भ हुँदा पालिका भित्रका सबै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूलाई छिटै लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

जानकी गाउँपालिका वडा नम्बर पाँचमा मात्र करिब ६०० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी रहेको जानकी गाउँपालिकाका भूमी शाखाका सर्वेक्षक गोकुल यादवले जानकारी दिनुभयो । जग्गा नापजाँच कार्य पुरा गरेपछि सो को लगत तयार पारेर भूमिहीन तथा सुकुम्वासीको पनि संख्या यकिन गरि उनीहरुका लागि लालपूर्जा तयार पार्ने कार्य गरिने भूमि समस्या समाधान आयोग बाँकेका सदस्य तलत प्रविण खानले बताउनुभयो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *