गण्डकी गाउँपालिकाको शिक्षकलाई निर्देशन :- राजनितिक कार्यक्रममा सहभागी नहुनु

राम्रो पालिका 180

गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।

‘शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षक तथा निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ’, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले भने, ‘त्यसले कोही पनि राजनीति कार्यक्रममा सहभागी हुन पाइदैन् । गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय सजाय हुन्छ ।’

सामाजिक सञ्जालमार्फत राजनीतिक कार्यक्रममा शिक्षकको सहभागिता भएको सन्दर्भमा गाउँपालिकाको गम्भीर ध्यानकर्षण भएको भन्दै उनले सार्वजनिक गुनासो र चासोका आधारमा शिक्षकलाई सूचनामार्फत सचेत गराएको बताए । प्रशासकिय अधिकृत उपरकोटीका अनुसार विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजनास्थल बनाइ राजनीतिक कार्यक्रम नगर्न र नगराउन पनि गाउँपालिकाले भनेको छ ।

विभिन्न राजनीतिक दलका कार्यक्रममा गण्डकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका भवनकोसमेत प्रयोग भएको भन्ने सूचना तथा फोटो सामाजिक सञ्जालमार्फत कार्यालयलाई प्राप्त भएको भन्दै त्यसतर्फ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

विद्यालयको भवनमा राजनीतिक कार्यक्रम दिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले सोको जिम्मेवारी लिनुपर्ने भन्दै त्यसका लागि पालिकाले आवश्यक प्रक्रिया अघि बढाइ कारबाही गर्ने चेतावनी दिएको छ ।
 

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *