ग्यास उद्योगीले माग सुनुवाई नभएको भन्दै स्थगित आन्दोलन फेरि सुरु गर्दै

राम्रो पालिका संवाददाता 76

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले स्थगित गरेको आन्दोलनका कार्यक्रम फेरि अघि बढाउने भएको छ । ग्यास उद्योगीले अघि सारेका मागका विषयमा सुनवाइ नभएपछि आन्दोलन फेरि सुरु गर्ने संघले बताएको छ ।

संघले गत माघ २४ गते १९ बुँदे माग अघि सार्दै माग पूरा नभए माघ २९ गतेबाट चरणबद्ध रुपमा विरोध कार्यक्रम अघि बढाउने तालिका सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा माघ ३० गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको उपस्थितिमा छलफल भएको थियो ।

छलफलका क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जायज माग सम्बोधन हुने बताएका थिए । उनले यसको गृहकार्य गर्न १५ दिन समय लाग्ने आश्वासन बताएका थिए । तर, १५ दिनभित्र सरकार र आयल निगम कुनै निष्कर्षमा पुग्न नसकेपछि संघले विरोधका कार्यक्रम फेरि अगाडि बढाउने निर्णय गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन १८ देखि देशभरका ५९ वटै ग्यास उद्योगले नेपाल आयल निगमबाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगरेको संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।

उनका अनुसार यति गर्दा पनि माग पूरा नभए ग्यास फागुन २४ गतेदेखि इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट नेपालका लागि एलपी ग्यासको बुलेट लोड गराउन छाड्ने र चैत १ गतेदेखि भन्सारबाट बुलेट छुटाउन रोक्ने संघले जनाएको छ । चैत ६ गतेसम्म पनि माग पूरा नभए ७ गतेदेखि उद्योगहरूबाट ग्यासको बिक्रीवितरण बन्द गर्ने र चैत ११ गतेबाट डिलरले पनि ग्यासको बिक्री रोक्ने संघले जनाएको छ ।

संघले एलपी ग्यास उपभोक्ताले ग्यास उपभोग गर्दा अपनाउनुपर्ने सावधानी, प्रयोग गर्ने विधिबारे जनचेतना जगाउन सरकारले एलपी ग्यास आयातको १ प्रतिशत छुट्याउनु पर्ने, ६ वर्षदेखि डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च वृद्धि तत्कालै वृद्धि हुनुपर्ने र हरेक वर्ष मुद्रास्फीति दर अनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *