जिप्रका बाँकेले सार्वजिक बिदामा पनि सेवा प्रवाह गर्ने

राम्रो पालिका संवाददाता 39
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

सिराज खान
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाहरूमा पनि आफ्नो कार्यालयले प्रवाह गर्ने केही महत्त्वपूर्ण सेवाहरू सूचारु राख्ने जानकारी गराएको छ ।

१६ वटा सार्वजनिक बिदाका दिन पनि जिल्ला प्रशासन कार्यालय बाँकेले नागरिकतासम्बन्धी सेवा, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणसम्बन्धी सम्पूर्ण सेवाहरू प्रवाह गर्ने जानकारी एक सार्वजनिक सूचना मार्फत गराएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको हस्ताक्षरमा सार्वजनिक गरिएको सूचनामा २०८२ वैशाख १ देखि चैत मसान्तसम्मको १६ वटा शनिबार बाहेकका सार्वजनिक बिदाहरूमा पनि उपरोक्त महत्त्वपूर्ण सेवाहरू सूचारु रहने जनाइएको छ ।

सूचनामा दिइएको जानकारी अनुसार वैशाख २९ गते उभौली पर्व तथा बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, असोज ६ गते घटस्थापना, मङ्सिर १८ गते धान्य पूर्णिमा, पुस १० गते क्रिसमस डे, पुस १५ गते उधौली पर्व तथा तमु ल्होसार, पुस २७ गते तमु ल्होसार र पृथ्वी जयन्ती, माघ १ गते माघी पर्व र माघ ५ गते सोनाम ल्होसारका दिनमा सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय बाँकेबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरणसम्बन्धी सेवाहरू प्रवाह गरिने छ ।

सोही प्रकारले माघ १६ गते सहीद दिवस, फागुन ३ गते महाशिवरात्री, फागुन ६ गते ग्याल्पो ल्होसार, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस तथा तोकिएको दिनमा पर्ने ईद र बकराईदको दिनमा सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन बाँकेबाट उपरोक्त सेवाहरू प्रदान गरिने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले १६ वटा महत्त्वपूर्ण सार्वजनिक बिदाका दिनहरूमा पनि आफ्नो केही आवश्यक सेवा प्रवाह गर्ने भएको छ ।’’

सार्वजनिक बिदाका माथि उल्लेखित ती दिनहरूमा पनि सेवा लिन जिल्ला प्रशासन कार्यालयमा आउन जिल्लावासीलाई सार्वजनिक सूचना मार्फत अनुरोध गरिएको जनाउँदै प्रमुख जिल्ला अधिकारी जोशीले त्यसका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले सबै तयारी पूरा गरेको बताउनुभयो ।

सार्वजनिक बिदाका दिनमा पनि केही आवश्यक सेवा प्रवाह गर्ने सरकारको निर्णय निकै सराहनीय रहेको जनाउँदै नागरिक सरोकार समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तोकिएका सार्वजनिक बिदाका दिनहरूमा सेवा लिन आउनेहरूलाई सहज र सरल रूपमा सेवा दिने व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *