तनहुँको बन्दीपुर अस्पतालमा ३६५ दिनै ओपिडी सेवा सुरु

राम्रो पालिका संवाददाता 54

अमरराज नहर्की
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ बन्दीपुर बजारस्थित बन्दीपुर अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा १३ घण्टा सञ्चालन गरेको छ । बिरामीको सहज उपचारका लागि सार्वजानिक बिदाको दिन समेत गरी ३६५ दिनै सेवा दिने गरी वैशाख १ गतेदेखि बिहान ७ देखि साँझ ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो ।

मजदुर, विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, सुरक्षाकर्मी लगायत सबैले उपचारका लागि दैनिक काम छाड्न नपरोस र सजिलोसँग उपचार पाउन् भनेर सेवा सुरु गरिएको अस्पातलाका प्रमुख डा. अनिल गिरीले जानकारी दिनुभयो ।

गिरीले भन्नुभयो, ‘‘सार्वजानिक दिनमा समेत सेवा पाउने गरी ३६५ दिनै सेवा बिस्तार गरेका छौं । सेवा लिन आउँदा थप शुल्क तिर्नुपर्दैन ।’’ गिरीका अनुसार स्वास्थ्य बिमितलाई स्वास्थ्य बिमामार्फत नै सेवा उपलब्ध गराइनेछ । गिरीका अनुसार विद्यार्थीले आफ्नो अध्ययन छाड्न नपर्ने गरी सेवा लिन सक्ने, ज्याला मजदुरले आफ्नो दैनिक ज्याला मजदुर छाड्न नपर्ने, व्यापार व्यवसायीले आफ्नो व्यापारमा असर नपर्ने, कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो दैनिक कार्यालय समयबाहेक सेवा लिन सक्न सक्नेछन् ।

डा. गिरीले भन्नुभयो, ‘‘बिहानै खाली पेटमा परीक्षण गर्नुपर्ने सबै सेवाग्राहीलाई सहज हुने र भीडभाडमा कमी भई सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने समस्याको अन्त्य गरेका छौं ।’’ नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमको बुँदा नम्बर १३५ मा उल्लेखित ‘बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अनिवार्य सञ्चालन हुने व्यवस्था मिलाइनेछ’ भन्ने नीति अनुसार सार्वजानिक बिदाको दिनमा समेत ओपिडी सेवा सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, नेपाल सरकारको आ.ब.२०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रमको बुँदा नम्बर १५६ अनुसार ‘अस्पतालहरुमा दुई सिफ्ट ओपिडी सेवा सञ्चालन गरिनेछ’ भन्ने नीति तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गत भदौ ७ गतेको ‘स्वास्थ्य सम्बन्धी सेवा प्रवाह सम्बन्धमा पत्रानुसार सेवा विस्तार गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र पाण्डे र उपाध्यक्ष पञ्चमाया गुरुङद्वारा सयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

सार्वजनिक विदाका दिनमा समेत बहिरङ्ग (ओपिडी) स्वास्थ्य सेवा प्रवाहका लागि व्यवस्था गर्नु भनि भएको परिपत्र तथा सोहि व्यहोराका गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयहरुद्वारा भदौ ११ र भदौ १८ गते भएका परिपत्रहरुलाई कार्यान्वयनमा ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

अस्पताल कार्यसञ्चालन समितिको मिति गत चैत २७ गतेको बैठक निर्णय अनुसार वैशाख १ गतेदेखि ३६५ दिनै (शनिबार र सार्वजनिक बिदाका दिनमा समेत) बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा र उपाध्यक्ष पञ्चमाया गुरुङद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । यसैगरी, बन्दीपुर अस्पतालले पनि सोमबार सूचना प्रकाशित गरि अस्पतालको सेवा ३६५ दिनै सञ्चालन हुने जनाएको छ । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *