नेपालमा मेकेडेमिया नट खेतीको सम्भावना र चुनौती
मेकेडेमिया नट केहो ? र यस्को खेती कसरी गर्ने ?
अष्ट्रेलियामा स्थानीय रूपमा पाइने मेकेडेमिया नट नेपालमा हालै भित्रिएको एक नयाँ कृषि उपज हो। स्वादिलो गुदी र उच्च पोषण मूल्यका कारण यसको खेतीप्रति कृषकहरू आकर्षित हुँदैछन्। नेपालमा यसबारे अध्ययन तथा अनुसन्धान बागवानी अनुसन्धान केन्द्र, मालेपाटन, र त्रिशुली फार्ममा भइरहेको छ।
व्यावसायिक खेतीको सुरुवात
नेपालमा मेकेडेमिया नटको खेती सीमित क्षेत्रमा गरिएको छ। यो फल ताजा, मुटेर वा आइसक्रिम, चकलेट जस्ता परिकारमा प्रयोग गर्न सकिन्छ। आद्रताले नबिग्रने र असिनाबाट सुरक्षित रहने भएकाले यसको व्यावसायिक खेती सम्भावनायुक्त देखिएको छ।
खेतीयोग्य क्षेत्र र जातहरू
यसको खेती उपोष्ण हावापानीमा उपयुक्त मानिन्छ। औसत तापक्रम २५-३२ डिग्री सेल्सियस भएका र ५००-१५०० मिटर उचाइका क्षेत्रहरू यसको लागि अनुकूल छन्। नेपालमा हाल त्रिशुली फार्ममा काकि, इकाइका ३३३, चेउहाउ, इकाइ इका जातहरू लगाइएका छन्।
बगैचाका बिरुवाहरू माउबोटका सन्तति भए पनि वानस्पतिक विधिबाट प्रसारण नगरिएकाले समयक्रममा गुणस्तरमा विविधता देखिएको छ। त्यसैले उन्नत जातहरूको प्रवर्द्धनका लागि भविष्यमै वानस्पतिक प्रसारण विधि अपनाउनुपर्ने देखिन्छ।
खेती प्रविधि
- माटो : पीएच ५-६ उपयुक्त
- प्रसारण विधि : बीउ तथा इनार्चिङ प्रविधि
- बिरुवा रोपाइको दूरी : ५x५ मिटर (प्रति रोपनी २० बिरुवा, प्रति हेक्टर ४०० बिरुवा)
- बिरुवा लगाउने समय : जेष्ठ–असार
- मलखाद व्यवस्थापन :
- रोप्ने बेलामा ५० केजी कम्पोस्ट
- १० वर्षसम्मका बिरुवाहरूलाई वार्षिक रूपमा ३० केजी कम्पोस्ट, १२० ग्राम यूरिया, ५० ग्राम डि.ए.पी., ८० ग्राम म्युरेट अफ पोटास आवश्यक
फल उत्पादन र टिपाइ
मेकेडेमिया नटको फल असोज महिनामा पाक्न थाल्छ। बोटमा पाकेका फलहरू आफैं झर्ने हुँदा टिप्न सजिलो हुन्छ। फल टिपेपछि ४-५ दिन घाममा सुकाएर भण्डारण गर्नुपर्छ।
- एक बोटको उत्पादन : १२-१५ वर्ष पुगेको बोटले २०-२५ केजीसम्म फल दिन्छ।
- प्रसंस्करण : ४५ केजी हरियो फलबाट २० केजी बोका हटाइएको फल प्राप्त हुन्छ, जसबाट करिब ५ केजी मेकेडेमिया कट्स उत्पादन हुन्छ।
रोगव्यवस्थापन
१. एन्थ्राक्नोज रोग
- लक्षण : फल, फूल, र पातमा कालो दाग देखिनु, बिरुवाको भाग झर्नु।
- उपचार : रोगी भाग हटाउनु, बोर्डेक्स मिश्रण तथा कपरअक्सिकोराइड ५० डब्लु.पी. छर्ने।
२. फूल सुक्ने समस्या
- लक्षण : फूल फुलेपछि सुकेर झर्नु।
- उपचार : फूल फुल्ने बेलामा नियमित सिँचाइ गर्नु, बोर्डेक्स मिश्रण प्रयोग गर्नु।
नेपाल कृषि अनुसन्धान परिषद्को अनुसार, मेकेडेमिया नटको व्यावसायिक खेतीका लागि विस्तृत अनुसन्धान आवश्यक छ। उन्नत जातहरूको प्रवर्द्धन तथा रोग व्यवस्थापनमा सुधार ल्याउन सकिएमा यो फल नेपालको कृषि क्षेत्रका लागि महत्वपूर्ण बन्न सक्ने देखिन्छ।







प्रतिक्रिया (0)