बर्दियाका महिलालाई स्वरोजगार बनाउन सिप विकास तालिम प्रदान

राम्रो पालिका संवाददाता 31

सिराज खान

नेपालगन्ज । बर्दिया जिल्लाको ठाकुरबाबा र राजापुर नगरपालिकाका ५० जना महिलालाई आर्थिक रुपमा सक्षम बनाउन ३९० घण्टाको विभिन्न सिप विकास तालिम प्रदान गरिएको छ।

ठाकुरबाबाका २५ र राजापुरका २५ गरेर ५० जना महिलाहरुको आयआर्जनका लागि उहाँहरुलाई लोकल कुखुरा पालन, बिषादीरहित तरकारी खेती र बाँसको हस्तकलाको सामग्री बनाउने ६५ दिनको तालिम प्रदान गरिएको दुबै पालिकाले जनाएका छन् ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले पालिकाका २५ जना महिलालाई लोकल कुखुरा पालन र बिषादीरहित तरकारी खेती गर्ने तालिम प्रदान गरिएको जनाउँदै सो तालिमबाट उहाँहरुको जीवनमा ठुलो परिवर्तन आउने आशा गरिएको बताउनुभयो । सोही प्रकारले राजापुर नगरपालिकाकी उपप्रमुख मनकलाकुमारी चौधरीले पनि आफ्नो पालिकाका २५ जना बेरोजगार महिलालाई स्वरोजगार बनाउन बाँसको हस्तकलाको सामाग्री बनाउने र बिषादीरहित तरकारी खेती गर्ने तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले सो तालिबाट महिलाहरु निकै उत्साहित देखिएकोले यसबाट उनिहरुको आर्थिक अवस्थामा सुधार हुने देखिएको बताउनुभयो ।

तालिममा सहभागि हुनुभएका ठाकुरबाबाका अनिता थारुले बिषादीरहित तरकारी खेती उत्पादन गर्ने तालिम लिएपछि निकै उत्साह उत्पन्न भएको जनाउँदै आफूले तरकारी खेती गर्ने बताउनुभयो ।

यस्तै, अर्का सहभागि राजापुरका राम कुमारी चौधरीले यो तालिमले व्यवसाय गर्न हौसला र सिप दुबै दिएको जनाउँदै अब केही गरेर देखाउने आँट बढेको बताउनुभयो । दुबै पालिकाको तालिमको समापनका अवसरमा सहभागि जनप्रतिनिधि, स्थानीय र तालिमका सहभागिले सिकेको सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए ।

बाँके युनेस्को क्बलले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरेको ग्रीन इकोनोमि परियोजना अन्तर्गत दुबै पालिकामा सिप विकास तालिम सञ्चालन गरिएको थियो । तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्दै तालिमबाट सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्न युवाहरुलाई प्रोत्साहित गरिएको थियो । तालिमका प्रशिक्षकहरुमा ओम प्रकाश थारु, बिकास थारु, सीता चौधरी र सरिता चौधरी रहनुभएको थियो ।

तालिमको मुख्य उदेश्य जोखिममा परेका युवतीहरूको सशक्तिकरण गर्ने र हरित व्यापार र लघु उद्यमहरूमार्फत रोजगारी सिर्जना गर्ने, स्थानीय स्रोतसाधनको उपयोग र बढ्दो प्रदूषण, ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट वातावरण संरक्षण गर्ने रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *