मस्र्याङ्दी गाउँपालिकाका स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार

राम्रो पालिका संवाददाता 61

नवीनराज कुइँकेल

लमजुङ। विभिन्न माग राखेर आन्दोलित मस्र्याङ्दी गाउँपालिका–९ का स्थानीयको माग पुरा गर्न सुपर खुदी हाइड्रोपावर कम्पन्नी तयार भएको छ ।

मस्र्याङ्दी गाउँपालिकाको वडा नं. २, ३ र ९ भएर बग्ने खुदी खोलामा निर्माणाधिन २६ मेगावाट क्षमताको सुपर खुदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा नसमेटेको भन्दै वडा नं. ९ का बासिन्दारु आन्दोलित भएका थिए । गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले समन्वय गरि राखेको बैठकमा आयोजनापक्ष स्थानीयको माग पुरा गर्न तयार भएको हो।

आयोजनापक्षसहित गाउँपालिका भवनमा बसेको बैठकले मस्र्याङ्दी–९ प्रभावित क्षेत्रमा नपरेकोले हाइड्रोको पुरक वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (.आइइए) गर्न सबै कागजात र प्रकृया पूरा गरि गाउँपालिकाको सिफारिसमा सम्बन्धित निकायमा जाने निर्णय गरेको छ । यस्तै मस्र्याङ्दी–९ का नागरिकका लागि प्रमोटर शेयर प्रदान गर्न आयोजना सञ्चालक समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रभावित क्षेत्रको विकासका लागि खर्च गरिने सिआरएस कार्यक्रम अन्तर्गत सरोकार समिति मार्फत आउने बजेटमा ९ नम्वर वडालाई ८ प्रतिशतले बजेट दिने र आयोजनाको तर्फबाट आर्थिक वर्ष २०८२-८३ मा थप ३५ लाख रुपियाँ बजेट दिने निर्णय भएको गाउँपलिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।

उहाँका अनुसार वडा नं. ९ का नागरिकलाई योग्यता, क्षमताका आधारमा रोजगारीको ब्यवस्था गर्ने र मस्र्याङ्दी–९ बासीबाट गरिएको आन्दोलन फिर्ता लिने सहमति भएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

यसअघि स्थानीयले आयोजना पक्षलाई लिखित र मौखिक रुपमा राखिएको माग पुरा नभएपछि स्थानीयले आयोजनाको सवारी साधन बन्द गराएका थिए । बन्दले अयोजनाको काम प्रभावित भएपछि गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको समन्वय र अध्यक्षतामा वडा नं. २ का अध्यक्ष चेतबहादुर गुरूङ, वडा नं. ३ का अध्यक्ष दुधमान तामाङ र ९ का अध्यक्ष हरिश्चन्द्र थापा, हाइड्रोपावरका बरिष्ठ आयोजना प्रमुख रविकुमार गौतम, साईड ईन्चार्ज कृष्णदास श्रेष्ठ, सरोकार समितिका अध्यक्ष प्रेमबहादुर गुरूङ, समन्वय समितिका अध्यक्ष राम थापासहित तीनवटै वडाका सरोकार पक्षविच बैठक भएको थियो ।

करिब ६० प्रतिशत काम सकिदापनि आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (आइइए) मा अतिप्रभावित ९ नम्बर वडालाई समावेश नगरी सञ्चालन गरेको र अहिले संस्थापक सेयर (प्रमोटर सेयर) मा समेत यस वडालाई समावेश नगरेको विषयप्रति स्थानीय आन्दोलित भएका थिए । आयोजनाको सरोकार तथा सहयोगी समिति साथै छरछिमेक कार्यक्रममा समेत मुख्य प्रभावित यस वडाका प्रतिनिधिलाई समावेश नगराएपछि आन्दोलित हुनुपरेको समन्वय तथा संघर्ष समितिका संयोजक रामबहादुर थापाले बताउनुभयो । उहाँले आंशिक रुपमा माग संवोधन भएको र अझै सम्बन्धित निकायमा पहल गर्न आवश्यक रहेको बताउनुभयो ।

यस विषयमा एकवर्षदेखि आवाज उठाए पनि बल्ल सम्बन्धित निकायले सुनुवाई गरेको वडाध्यक्ष हरिश्चन्द्र थापाले बताउनुभयो । उहाँले यो विषयमा उर्जा मन्त्रालयसम्म पत्राचार गरेर आयोजनालाई दवाव दिएको बताउनुभयो ।

थापाका अनुसार उर्जा मन्त्रालयको वातावरण विभागले विद्युत विकास विभागलाई स्थानीयको मागबारे ध्यानआकर्षण गराएको छ । विद्युत विकास बोर्डले आयोजनालाई तीन दिनको समय दिएर स्थानीयको मागबारे सोधेको थियो ।

हाइड्रोपावरका बरिष्ठ आयोजना प्रमुख रविकुमार गौतमले स्थानीयको माग बमोजिम पुन वातावरणीय प्रभाव मुल्याङ्क गर्न नसकिने जिकिर गर्नुभएको छ ।

रन अफदि रिभर प्रकृतिको यो आयोजनाबाट बार्षिक १२९ दशमलव १९ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुने निर्माण कम्पनी सुपर खुदी हाइड्रोपावरले जनाएको छ । आयोजनाको ५५ प्रतिशत काम सकिएको साइड इन्चार्ज कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *