म्याग्दीका ग्रामीण क्षेत्रमा कोदोखेतीको आकर्षण बढ्यो, सहर बजारसम्म पुग्दै माग
२५ कात्तिक, गलेश्वर (म्याग्दी) – कहिल्यै “गाउँलेको खान्की” भनेर हेपिएको कोदो अहिले सहरबजारका प्रतिष्ठित व्यक्तिहरूले समेत खोज्न थालेपछि म्याग्दीका ग्रामीण भेगमा कोदोखेती फस्टाउँदै गएको छ। सहरबजारबाट कोदो खोज्दै व्यापारी गाडी लिएर गाउँगाउँमा पुग्न थालेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकामा कोदोखेती तीव्र रूपमा विस्तार भएको हो।
मालिका गाउँपालिका–२ का किसान रणबहादुर शिर्पालीका अनुसार, व्यापारीहरू अहिले नै अग्रिम पेश्की दिँदै घरघरमा कोदो किन्न आउन थालेका छन्। यस वर्ष उपल्लो दरबाङ, दिच्याम लगायतका गाउँमा व्यापक रूपमा कोदो लगाइएको छ। दिच्यामका वीरबहादुर विकले गत वर्षको तुलनामा यस वर्ष साढे तीन सय मुरी कोदो उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिए, जसका लागि गत वर्षभन्दा एक सय २० रोपनी बढी जमिनमा कोदो रोपिएको छ।
धवलागिरि गाउँपालिका–२ की शोभा पुनले पनि सहरमा कोदोको माग बढेकाले आफ्नो बाँझो जमिनमा यस वर्ष कोदो खेती गरेको बताइन्। “गाउँ फर्केर खेताला खोजेर दुई दिन लगाएर कोदो रोपें, सात–आठ मुरी जति फल्ने आशा छ,” उनले भनिन्।
कोदोको स्वास्थ्य फाइदाहरूलाई पोषणविज्ञहरूले उच्च महत्व दिएका छन्। कोदोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्व पाइने हुँदा यसले तौल नियन्त्रण, मुटु स्वास्थ्य, हड्डी मजबुत बनाउन र पेटको स्वास्थ्यलाई सुदृढ गर्न मद्दत पुर्याउँछ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले यस वर्ष अनुकूल मौसम, रोग कीराको कम समस्या र रासायनिक मलको सहज आपूर्तिका कारण कोदो उत्पादनमा सुधार हुने बताए। गत वर्ष म्याग्दीमा २,२५० मेट्रिक टन कोदो उत्पादन भएको थियो भने यस वर्ष ०.६५ प्रतिशतले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।
म्याग्दीमा कुल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेको छ, तर त्यसमध्ये १९ हजार ४९८ हेक्टरमा मात्र खेती भइरहेको छ। कोदो खेतीको बढ्दो आकर्षणसँगै, बाँझो रहेका जमिनमा उत्पादन वृद्धि हुने आशा गरिएको छ, जसले ग्रामीण अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।







प्रतिक्रिया (0)