विशिष्टीकृत सेवामा फड्को मार्दै नेपालगन्जस्थित भेरी अस्पताल

राम्रो पालिका संवाददाता 46

गजेन्द्र गुरुङ
खजुरा । नेपालगन्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको आशा र विश्वाससमेत बढ्दै गएको छ ।

अस्पताल स्थापना भएको १३४ वर्ष पुगिसक्दा अस्पतालले आम नागरिकलाई विभिन्न गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिरहेको हो । अस्पतालले वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मानव अङ्ग (मिर्गौला) प्रत्यारोपण सेवासमेत सुरु गरेको छ । मिर्गौला प्रत्यारोपण सेवा सुरु भएसँगै यस क्षेत्रका मिर्गौला रोगका बिरामीहरु धेरै खर्च गरेर काठमाडौँ तथा भारततिर धाउन नपर्ने भएको छ ।

“हामी आम नागरिकलाई गुणस्तरीय र विशिष्टकृत स्वास्थ्य सेवा कसरी प्रवाह गर्न सकिन्छ भनेर गम्भीर छौँ, हाम्रो सम्पूर्ण शक्ति आम नागरिकले सहज र सरल रुपमा सम्पूर्ण स्वास्थ्य सेवा पाउनुपर्छ भनेर चिन्तित छौँ ।” अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भन्नुभयो, “आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नयाँ नयाँ सेवाहरु थप गर्दै लगेका छौँ, वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मृगौला प्रत्यारोपण सेवा सुरु गरेका छौँ, अब यस क्षेत्रका मृगौला रोगीले धेरै रकम खर्च गरेर काठमाडौँ या भारततिर धाउन पर्दैन ।”

मेसु सुवेदीका अनुसार अस्पतालमा सेवाहरु थप गर्ने क्रम जारी छ । “हामीले विशिष्टीकृत सेवाहरु थप गर्दै जाने योजनाअनुसार काम गरिरहेका छौँ, केही समयअघि मात्र सिकलसेल एनिमिया बिरामीहरुको उपचारका लागि ६ शय्याको सिकलसेल डे केयर वार्ड र १० शय्याको सिकलसेल वार्ड सञ्चालन गरेर सेवा प्रदान गरेका छौँ ।” मेसु सुवेदीले भन्नुभयो, “पहिला अस्पतालमा जलन उपचार कक्ष थिएन, जलन भएका बिरामीहरुलाई लक्षित गरेर ६ शय्याको जलन कक्ष (वर्न वार्ड)समेत सञ्चालन गरेका छौँ ।”

त्यसैगरी, यसअघि सर्जिकल विङ्ग अन्तर्गत १९ शय्या सञ्चालन हुँदै आएकोमा केही समय पहिलेबाट १२ शैया थपेर ३१ शय्या पु¥याइएको मेसु सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार इएनटी र युरोलोजी विभागमा १० शय्या, सर्जिकलतर्फ १५ शय्या र जलनलाई ६ शय्या गरी सञ्चालनमा ल्याइएको हो । पोष्ट अप्रेटिभ वार्डतर्फ दुई शय्या थपिएको छ भने अर्थोपेडिक्स विभागका लागि आठ र जनरल पोष्ट अप्रेटिभ विभागका लागि आठ गरी सञ्चालनमा ल्याइएको छ ।

उहाँले यसअघि आइसियु वार्ड १० शय्याको एकै ठाउँमा सञ्चालन रहेकोमा हाल दुई वटा शय्या थपेर १२ शय्याको पुर्‍याइएको बताउनुभयो । “पहिला एकै ठाउँमा १० शय्याको आइसियु वार्ड सञ्चालन थियो, त्यसमा दुई वटा शय्या थप गरेर १२ पुर्‍यायौँ र त्यसलाई ६ शय्या सर्जिकल आइसियु वार्ड र ६ शय्या मेडिकल आइसियु वार्ड छुट्टाछुट्टै सञ्चालनमा ल्याएका छौँ ।” मेसु सुवेदीले भन्नुभयो । त्यसैगरी स्त्रीरोग विभागमा पोष्ट अप्रेटिभ वार्डमा ६ शय्या मात्रै रहेकोमा पछिल्लो समय थप ६ शय्या थपेर १२ शय्या बनाएर सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जनरल वार्डतर्फ १२ शय्या व्यवस्थापन गरिएको छ । मेसु सुवेदी भेरी अस्पतालमा सरुवा भएर आउनुभएको सात महिनामात्र पुगेको छ ।

भेरी अस्पतालमा यसअघि मुटु उपचार, डायलाइसिस, ग्याष्ट्रो सर्जरी, न्युरो सर्जरी, युरो सर्जरी लगायतका विशिष्टीकृत सेवासँगै अन्य गुणस्तरीय स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम तथा भारतका विभिन्न स्थानबाट समेत दैनिक रुपमा एक हजारभन्दा बढी सेवाग्राही अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आउने गरेका छन् ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *