नेपालमा भएको ८ वटा आम चुनावमा कति प्रतिशत मत खसेको थियो ?

नेपालमा संसदीय चुनावको इतिहास र तथ्यांक

राम्रो पालिका 573

काठमाडौं– नेपालको संसदीय निर्वाचनको इतिहास ६५ वर्ष पुरानो भएको छ । २०१५ सालको पहिलो निर्वाचन देखि २०७९ सम्म आइपुग्दा ८ वटा निर्वाचन भएका छन्। आवधिक निर्वाचन हुने व्यवस्था अवरुद्ध भएको कारण नियमित रुपमा संसदीय चुनाव हुन नसकेको हो । ३० वर्षको पञ्चायती व्यवस्थाको बिचमा आवधिक चुनाव भएन । २०५९ मा भएको शाही घोषण पछि माओवादी जनयुद्ध, जनआन्दोलन र व्यवस्था परिवर्तनले गर्दा २०५६ पछि एकैपटक २०६४ मा मात्र निर्वाचन भएको थियो ।

२०६४ र २०७० को निर्वाचन पछिको संसदको अभिभारा भनेको जनआन्दोलनको भावनाअनुरुपको संविधान बनाउनु थियो, निर्वाचनलाई संविधानसभाको निर्वाचन नामाकरण गरिएको थियो । तर त्यस संविधानसभाले व्यवस्थापिका संसदको भूमिकामा पनि काम गर्थ्यो। यसको लागि २०६३ मा बनेको अन्तरिम संविधानले विशेष व्यवस्था गरेको थियो। २०७२ को असोजमा संविधान बनेपछि भने तीन तहको सरकारको व्यवस्था भयो । नयाँ संविधान अनुसार २०७४ मंसिरमा पहिलो र २०७९ मंसिरमा दोस्रो संसदीय निर्वाचन निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचन आयोगले प्रकाशन गरेको नेपालको निर्वाचन इतिहास भाग १ मा दिइएको विवरण अनुसार नेपालमा हरेक निर्वाचनमा मतदाताको रुझान फरक रुपमा प्रस्तुत भएको पाउन सकिन्छ । कस्तो थियो त २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७०, र २०७४ सालको निर्वाचनमा कुल मतदाताको संख्या र मतदान भएको प्रतिशत ?

आउनुहोस्, यसको संक्षिप्त तथ्यांक केलाएर हेरौं । २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपालको इतिहासमा पहिलो पटकको आम निर्वाचन २०१५ फागुन ७ गते प्रारम्भ भइ विभिन्न चरणमा ४५ दिन लगाएर सोही वर्षको चैत २८ गते सम्पन्न भएको थियो। राजा महेन्द्रको शासकीय नेतृत्वमा सम्पन्न त्यसको नतिजा २०१६ वैशाख २८ गते आएको थियो। २०१५ सालको निर्वाचनमा कूल मतदाता ४२ लाख ४६ हजार ४६८ रहेका थिए र १७ लाख ९१ हजार ३७२ ले मात्र मतदान गरेका थिए। यो कुल मतदाताको ४२.१८५ प्रतिशत हो। २०१७ मा राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था लागू गरेपछि ३० वर्षसम्म दलहरू प्रतिबन्धमा परे। त्यस बिचमा आवधिक चुनाव भएन ।

नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा भएको २०४६ को पहिलो जनआन्दोलनले बहुदलीय व्यवस्थाको पुनर्बहाली गरेपछि २०४८ बैशाख २९ गते नेपालको इतिहासमा दोस्रोपटक संसदीय आम निर्वाचन भएको थियो। यो निर्वाचनमा कुल १ करोड ११ लाख ९१ हजार ७७७ मतादाता रहेका थिए। यसमा करिब ६५.१५ प्रतिशत मतदाताले मतदानमा सहभागिता जनाएका थिए। निर्वाचनमा बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पराजित भए । निर्वाचनपछि नेपाली कांग्रेसको बहुमतको सरकार बनेपनि त्यसले ५ वर्ष सत्ता सञ्चालन गर्न सकेन ।
२०५१ मा सरकारले संसद विघटन गरेपछि २०५१ कै कात्तिक २९ गते भएको मध्यवाधि निर्वाचनमा १ करोड २३ लाख २७ हजार ३२९ मतदाता रहेकामा करिब ६१.८६ प्रतिशतले मात्रै मतदान गरेका थिए। निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेन् । संसदको यो कार्यकालमा नेकपा(एमाले)को नेतृत्वको लोकप्रिय सरकार सञ्चालन देखि संसदीय राजनीतिमा अनेकौं विकृति भित्र्याउने गरी सबै दलहरुको सहभागितामा सरकार बनाउने र सरकार ढलाउने अभ्यास भयो । संसदको आयुसम्बन्धी विषयमा अदालतको प्रवेश भएपछि यो संसदीय कार्यकाल ५ वर्ष नै कायम रह्यो ।

त्यसपछि २०५६ बैशाख २० गते र जेठ ३ गते दुई चरणमा सम्पन्न भएको आम निर्वाचनमा १ करोड ३५ लाख १८ हजार ८३९ मतादाता रहेका थिए। यसमध्ये करिब ६५.७९ प्रतिशत अर्थात ८८ लाख ९४ हजार ४४ मतदाताले मात्र मतदानमा सहभागिता जनाएका थिए। यस निर्वाचनपछि नेपाली काँग्रेस बहुमतसहित पुनः सत्तामा स्थापित भएको थियो ।

२०५६ पछिको ८ वर्षमा देशमा ठुलो राजनीतिक उथलपुथल भयो । नारायणहीटी हत्याकाण्ड, संकटकाल, शाही घोषणा, बाह्रबुँदे समझदारी इत्यादी घटनाक्रम खेप्दै जाँदा २०६२।०६३ को जनअन्दोलनले व्यवस्था नै परिवर्तन गरायो। यसपछि बनेको अन्तरिम संविधान अनुसार २०६४ चैत २८ गते पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो। यस निर्वाचनमा कुल १ करोड ७६ लाख ११ हजार ८३२ मतदाता रहेका थिए। जसमध्ये १ करोड ८ लाख ६६ हजार ५ सय मतदाताले निर्वाचनमा भाग लिए । यो निर्वाचनमा करिब ६१.७० प्रतिशत मत झरेको थियो।यस निर्वाचनलो तत्कालिन नेकपा(माओवादी) र मधेशकेन्द्रित दलहरुलाई संसदीय राजनीतिको केन्द्रमा स्थापित गराएको थियो ।

पहिलो संविधानसभाले संविधान बनाउन नसकेपछि पुनः २०७० साल मंसिरमा दोस्रो संविधान सभाको निर्वाचन भयो। यस निर्वाचनमा १ करोड २१ लाख ४७ हजार ८६५ मतदाता रहेका थिए। पहिलो संविधान सभाको निर्वाचनको तुलनामा दोस्रो संविधान सभाको निर्वाचनमा करिब ५५ लाख मतदाता घटेका थिए।२०६७ भदौबाट प्रविधियुक्त र वैज्ञानिक आधारमा मतदाताको विवरण संकलन गरेपछि वास्तविक मतदाता संख्या आएको थियो। यस निर्वाचनमा ७८.७४ प्रतिशत मत खसेको थियो। कुल मतदाता संख्यामा ९५ लाख १६ हजार ७३४ मतदाताले मतदान गरेका थिए। यस निर्वाचनले नेपाली काँग्रेस र नेकपा(एमाले)लाई फेरी संसदीय राजनीतिको केन्द्रमा फर्काएको थियो ।

२०७२ असोजमा संविधान बनेपछि २०७४ मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो। यो निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। यसमध्ये १ करोड ५ लाख ९४ हजार ४४ मतदाताले मतदान गरेका थिए। यो कुल मतदाताको ६८.६६७ प्रतिशत हो।

२०७९ मंसिरको संसदीय निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए । यस निर्वाचनमा करिब ६१ प्रतिशत मतदालाले मताधिकार प्रयोग गरेका थिए भने निर्वाचनबाट नयाँ राजनीतिक दलको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीहरु संसदीय राजनीतिको अस्तित्वमा आएका छन् । यस निर्वाचनले मूलधारका भनिएका राजनीतिक दलहरुको परम्परागत विरासत हल्लाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *