सडक कालोपत्रे भएपछि त्रिवेणी गाउँपालिका सर्दीवासी खुसी

राम्रो पालिका संवाददाता 59

ज्ञानु पंगेनी

मध्यविन्दु । विनयी त्रिवेणी गाउँपालिका सर्दीका यादव पौडेललाई केही समय पहिलेसम्म सर्दीबाट दुम्किबाससम्म आउजाउ गर्न कम्तीमा ४५ मिनेटदेखि एक घण्टा समय लाग्थ्यो ।

पालिकामा काम परेर आउजाउ गर्नुपर्दा आफ्नो सवारी साधन लिएर हिँडन पनि नपरे हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो । जङ्गल, केही पहाडी क्षेत्र अनि कच्ची सडकका कारण पालिकामा केही काम परेर आउजाउ गर्न पनि सास्ती हुन्थ्यो । अहिले त्यो अवस्था फेरिएको छ । पालिकाले सडक कालोपत्रे गरेपछि अहिले १५ मिनेटमै पालिका तथा दुम्किबास बजारमा आउजाउ गर्न सकिने भएको छ ।

पौडेल भन्नुहुन्छ, ‘अब त १५ मिनेटमै आउजाउ गर्न सकिन्छ, सवारी साधन बिग्रन्छ कि भन्ने चिन्ता पनि हटेको छ । ’ सर्दीकै मनरूपा पाण्डेलाई आफ्नो गाउँमा यसरी कालोपत्रे सडक पुग्छ अनि सहज रूपमा आउजाउ गर्न सकिन्छ भन्ने लागेको थिएन ।

आफ्नो पालामा सडक राम्रो हुन्छ अनि सजिलैसँग आउजाउ गर्न पाउँछौ भन्ने उहाँले सोच्नु भएको थिएन । ‘सर्दी भनेपछि पछाडि परेको क्षेत्र हो, बाटोघाटाको अवस्थाले गर्दा वर्षौँदेखि हामीले दुख भोग्दै आएका थियौं, बिरामी हुँदा, सुत्केरी हुँदा, सर्पले टोकेर अस्पताल लैजानु पर्दा बाटोकै कारण कतिपयले ज्यान गुमाउनु परेको थियो । तर अहिले बाटो राम्रो बनेपछि अवस्था फेरियो’ पाण्डेले भन्नुभयो ।

सडक पूर्वाधार नबन्दा कुनै बेला बिकट मानिने सर्दी कालोपत्रे सडकले जोडिएसँगै सुगम बन्न पुगेको छ । विनयी त्रिवेणी गाउँपालिकाले पालिकाको गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्रे भएपछि अब घण्टौँ लगाएर कष्टपूर्ण रूपमा दुम्किबास आउजाउ गर्नुपर्ने सर्दी र आसपासका बासिन्दाको बाध्यता अन्त्य भएको छ ।

गाउँपालिकाले दुम्किबास–डाँडाजोर–सिदे्र हुँदै कोल्टाडी सर्दीसम्मको १४ किलोमिटर सडक स्तरोन्नति गरेको छ । जङ्गल र पहाडी क्षेत्रमा ढलानसहित अन्य क्षेत्रमा कालोपत्रे गरिएको हो ।

गाउँपालिकाको १७ करोड बजेटको लागतमा सडक स्तरोन्नति गर्ने काम सम्पन्न गरेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । पालिकाले निर्माण गरेको यस सडकले विनयी त्रिवेणीको वडा १, २, ३, ४ र ५ का बासिन्दा सबैलाई सहज गरेको अध्यक्ष गिरीले बताउनुभयो ।

मुख्यगरी वडा ३, ४ र ५ का बासिन्दालाई सहज रूपमा दुम्किबास आउन थप सुविधा पुगेको उहाँको भनाइ छ । दसकौंदेखि सुविधायुक्त सडकले नजोडिएको दुम्किबास–सर्दीलाई पालिकाले कालोपत्रे सडकले जोड्ने काम गरेको अध्यक्ष गिरीले बताउनुभयो । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *