बाजुराको हिमाली गाउँपालिकामा छाउगोठ त्याग्दै महिला

राम्रो पालिका संवाददाता 42

शेरबहादुर सार्की
बाजुरा । बाजुराको पूर्वि उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका महिलाहरु पछिल्लो समय महिनावारी हुँदा घरकै कोठामा बस्न थालेका छन् । योभन्दा पहिला यहाँका महिलाहरु महिनावारी भएको बेलामा घरदेखि टाढा निर्माण गरिएका छाउगोठमा बास बस्दै आएका थिए ।

गाउँपालिकाले यहाँका महिलाहरुलाई घरकै कोठामा बस्ने गरी छाउप्रथा रोक्नका लागि गाउँमा विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरेसँगै बल्ल अहिले यहाँका महिलाहरु महिनावारी भएका बेला छाउगोठ छोडेर घरकै कोठामा बास बस्न थालेका हुन् ।

छउप्रथाको बारेमा आफुलाई केही जानकारी नहुँदा लामो समयदेखि छाउगोठमा बस्ने गरेको हिमाली गाउँपालिका –६ जन्मा पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “छाउप्रथा कुप्रथा हो, भन्ने कुरा प्रष्ट थाहा पाएपछि आफु महिनावारी भएको बेलामा पनि अहिले घरमै बस्न थालेकी छु ।”

म मात्र होइन अहिले ससुराले समेत यो छोप्रथा मान्नुहुँदैन । पहिला छाउ हुँदा टाढा सुताउने गर्नु हुन्थ्यो । अहिले उहाँहरुले मलाई महिनावारी भएको बेलामा पनि घरको माथिल्लो तलामा सुताउने र महिनावारी भएको बेलामा दहि मही दुध समेत खान दिनु भएको पाण्डेले बताउनुभयो ।

छाउप्रथाका कारण आफुले लामो समयसम्म धेरै दु:ख पाएको पाण्डेकी सासु देव पाण्डेले बताउनुभयो ।

“यही दुःख मेरो बुहारी छोरीले नपाउँन भनेर मैले अहिले बुहारी र छोरी महिनावारी भएको बेलामा घरको माथिल्लो तलामा सुताउँने गरेकी छु ।,” उहाँले भननुभयो, ‘‘महिनावारी भएकालाई दुध दही दिएपछि गाई भैँसी बिरामी हुन्छन् भन्थ्ये । मैले त मेरो बुहारी छोरी महिनावारी भएका बेलामा पनि दुघ, दही र महि दिने गरेकी छु । अहिलेसम्म मेरो भैँसीलाई केही भएको छैन् ।’’

महिनावारी भएको बेलाम घरको कोठामा बस्न थालेपछि अहिले छोरीबुहारीलाई समेत सहज भएको पाण्डेको भनाइ छ ।

जिल्लाका अन्य ठाउँमा भने छाउप्रथा कायमै रहँदै आएको छ । यहाँ २०८१ गत माघ १४ गते बुढीगङ्गा नगरपालिका –८ रिठा प्रहरी चौकीले नुवाकोट, सिगाडा, भण्डारगाउँ, झारगाउँ, बदेडा, तिमाडा र सेलापाखालगायतको छाउगोठ अनुगमन गरेको थियो ।

प्रहरीले यहाँका गाउँ बस्तीमा छाउगोठको अवस्था के छ भनेर अनुगमन गर्दा २९ वटा छागोठ देखिएका छन् । ती छाउगोठ अहिलेसम्म भत्किएका छैन ।

२०७५ पुस २५ गते बुढीनन्दा नगरपालिकाको –९ पाण्डुुसैनमा छाउगोठमा सुतेको बेला आगलागी हुँदा ३५ वर्षीय आमा अम्बा बोहरा, नौ वर्षका छोरा सुरेश बोहरा र सात वर्षका छोरा रमित बोहराको ज्यान गएको थियो ।

त्यसपछि बाजुरामा छाउप्रथा कुप्रथा हो, भन्दै विभिन्न स्थानीय निकायहरुले छाउप्रथा उत्मुलनका विभिन्न कार्यक्रम सञ्चालन सुरु गरेका थिए । तर पनि अहिलेसम्म यहाँका हिमाली गाउँपालिका बाहेक अन्य पालिकामा भने अन्य ठाउँमा छाउँप्रथा हटेन सकेको छैन । महिनावारी भएका बेलामा यहाँका महिला अहिले पनि छाउगोठमा बास बस्ने गरेका छन् ।

छाउगोठ भत्काउने अभियानले योभन्दा पहिला बाजुरामा झण्डै ५११ वटा छाउँगोठ समेत भत्काएको थियो । अहिले त्यो अभियाना सुस्ताएसँगै फेरि छाउँगोठ पुनर्निर्माण हुन थालेका छन् ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *