गोरखामा बेलिब्रिज पुल बनेपछि उत्तरी बासिन्दाको यात्रा सहज
सुलीकोट । गोरखाको भिमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ को ज्यादुल खोलामा निर्माण भएको बेलिब्रिज पुल सम्पन्न भएपछि उत्तरी गोरखाबासीको यात्रा सहज बनेको छ।
यो पुल धार्चे, चुमनुब्री, आरुघाट गाउँपालिका हुँदै धादिङको सल्यानटार जोड्ने मुख्य सडकमार्गमा पर्छ। पुल निर्माणसँगै उत्तरी गोरखा र सदरमुकाम गोरखाबीचको व्यापार व्यवसाय सुगम हुनुका साथै हिउँद र बर्खा दुवै ऋतुमा सवारीसाधन सहजै सञ्चालन हुने भएको सडक योजना कार्यालय गोरखाले जनाएको छ।
पुल बनेपछि उत्तरी गोरखाको जडीबुटी र भेडा–च्याङ्ग्रालाई सहजै गोरखा बजारसम्म ल्याएर बिक्री वितरण गर्न सकिने भएकाले स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास लिइएको छ। साथै, मनास्लु संरक्षण क्षेत्र हुँदै आउने पर्यटकहरूको आवतजावत सहज भई सहिद लखन, भिमसेन थापा र आरुघाट गाउँपालिकाका स्थानीय व्यापारीको व्यवसायमा वृद्धि हुने अपेक्षा गरिएको छ।
सडक योजना कार्यालयका अनुसार मोटरेबल पुल निर्माणका लागि २०७८ साल पुस ९ गते श्री जलप नेपाल प्रालिसँग ४ करोड ६० लाख लागतमा डेढ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो। तर दक्ष जनशक्ति परिचालन गरी निरन्तर काम गर्दा करिब २० मिटर लम्बाइको पुल ८ महिनामै निर्माण सम्पन्न भएको जानकारी सूचना अधिकारी आशिष रिजालले दिनुभयो।
सम्झौताभन्दा आधा समयमै पुल तयार भएपछि स्थानीयवासी दंग भएका छन्। अब हिउँद–बर्खा जे–कसै बेला पनि सवारीसाधन सञ्चालन हुने भएकाले दैनिक उपभोग्य सामान ढुवानीमा सहज भएको छ।
यसअघि मोटरेबल पुल नहुँदा वर्षा लागेसँगै आवागमन अवरुद्ध हुने र व्यापारीहरूले महँगो भाडा तिरेर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो। तर अब नयाँ पुल सञ्चालनमा आएपछि यो समस्या समाधान भएको भिमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले बताउनुभयो।







प्रतिक्रिया (0)