मकवानपुरको मनहरी गाउँपालिकाको आन्तरिक स्रोतबाट पाँच पक्की पुल निर्माण

राम्रो पालिका संवाददाता 33

अनिल पराजुली

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पालिकामा पाँच पक्की पुल निर्माण गरेको छ। सबै पुल निर्माण सकिएसँगै यहाँको कृषि उपजको बजारीकरणका साथै स्थानीयवासीको दैनिक जीवनयापन सहज हुने भएको छ। गाउँपालिकाको चार वटा वडालाई जोड्नका लागि आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपियाँ खर्चिएर पक्की पुल निर्माण गरेको हो।

मनहरी–३ स्थित ठाडो खोला र हाँडीखोलामा निर्मित पुलको शनिबार बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाट गर्नुभएको छ। पुल उद्घाट गर्दै प्रदेशसभा सदस्य बानियाँले पुल निर्माणसँगै हाँडीखोलाका कृषि उत्पादन सहज रूपमा बजारमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। लामिटार–चकरी–मकरी पदमपोखरी सडक स्तरीकरण र कालोपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन गर्ने बानियाँले विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाक–४ का बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गर्नुभयो। अब सडक स्तरीकरणमा आफूहरूले ध्यान दिने उहाँको भनाइ छ।

लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन पाँच वटा पक्की पुलमध्ये तीन वटा गत वर्ष नै सम्पन्न गरी उद्घाट गरिसकिएको थियो। बाँकी दुई वटा पुलको शनिबार उद्घाट गरिएको हो। ८ दशमलव ४० मिटर चौडाई र ९० मिटर लम्बाइको ३ स्पानको ठाडो खोला पुल हिराचन बानियाँ जेभीले आठ करोड ६७ लाख पाँच हजार रुपियाँमा सम्झौता गरी सम्पन्न गरेको हो। त्यस्तै ३५ मिटर लामो एक स्पानको हाँडीखोला पुल भैरव नारायणम जेभीले पाँच करोड ३५ लाख ५१ हजार रुपियाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको हो। मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो।

३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपियाँ, २ स्पानको ट्वाङ्गा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपियाँमा यसअघि नै सम्पन्न गरिएको हो। तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो।

दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो। हेटौँडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्ने गरी २०७७ सालमा एकैसाथ पाँच वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *