जुम्लामा बाढीपहिरोपीडितका नयाँ घर निर्माण, १४६ परिवारले पाए सुरक्षित बास

राम्रो पालिका संवाददाता 27

जुम्ला। २०७९ सालको विनाशकारी बाढीपहिरोले घरबार गुमाएका जुम्लाका बाढीपीडितहरूका लागि सुरक्षित बासको सपना पूरा हुँदैछ। सिँजा गाउँपालिका–२, चुलेलगाउँका कर्णजीत वड, धनराज वड र देवीकृष्ण आचार्यजस्ता धेरै पीडितका घर धमाधम निर्माण भई उनीहरू पुनः आफ्नो घर फर्कन पाएका छन्।

२०७९ असोज १९–२६ सम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले जुम्लामा १० जनाको ज्यान गएको थियो भने सिँजा गाउँपालिकामात्रै धेरै घर पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। चुलेलगाउँमै १९ घर भत्किएका मध्ये १४ दलित बस्तीका थिए। लामो समय पाल र छिमेकीको घरमा बस्न बाध्य पीडित अहिले नयाँ घर पाउँदा खुसी छन्।

वडाध्यक्ष तीर्थ वडका अनुसार गाउँपालिका, संघीय सरकार र घरधनीको साझेदारीमा स्थानीय ढुङ्गा–माटो प्रयोग गरी सुरक्षित घर निर्माण गरिएको हो। वडा नं. २ मा मात्र १४ घर तयार भइसकेका छन्। घोड्गामा पाँच, विष्टवाडामा तीन, रनुखानामा दुई र अवस्थीवाडामा दुई घर निर्माण सम्पन्न भएको छ।

घर पुनर्निर्माणका लागि गाउँपालिकाले प्रतिघर ५० हजार रुपैयाँ, विपत् प्राधिकरण केन्द्रले पहिलो किस्तामा ४५ हजार रुपैयाँ, र आगामी किस्ता संघीय सरकारबाट उपलब्ध हुने जनाएको छ।

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार बाढीपहिरोमा पूर्ण क्षति भएका १४६ घर पुनर्निर्माणका लागि पहिलो किस्ताको बजेट भइसकेको छ। यसका साथै साझेदार संस्था पेस नेपाल र जर्मनी कारितास नेपालको उत्थान परियोजनाबाट विपन्न परिवारका २८ घरका लागि प्रतिघर ५० हजार रुपैयाँका दरले सहयोग गरिएको छ, जसअन्तर्गत ९ घर पूरा भइसकेका छन्।

अध्यक्ष धितालले अब सिँजाका बाढीपीडितलाई पाल र चुहिने घरमा बस्नुपर्ने अवस्था नआउने दाबी गर्दै सबै पीडितलाई सुरक्षित आवास उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *