कोहलपुरमा सुविधा सम्पन्न महिला डेडिकेटेड अस्पताल सञ्चालनमा
नेपालगन्ज । स्वास्थ्य हब बन्दै गएको बाँकेमा नयाँ–नयाँ अत्याधुनिक अस्पताल सञ्चालनमा आउने क्रम जारी छ । सोही क्रममा कोहलपुरमा १५ शय्याको महिला डेडिकेटेड एच एन्ड एच अस्पतालले अत्याधुनिक सुविधासहित सेवा सुरु गरेको छ ।
यस क्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा सञ्चालनमा आएको उक्त अस्पतालले महिलाको स्वास्थ्यलाई सहज, सरल र गुणस्तरीय बनाउन योगदान पुर्याउने बताइएको छ ।
कोहलपुर नगरपालिका–११ मा स्थापना भएको अस्पतालले महिला स्वास्थ्यसँगै अन्य रोगसम्बन्धी सेवा पनि प्रदान गर्ने भएकाले स्थानीय नागरिकलाई थप सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।
डा. विसीका अनुसार महिलालाई स्वास्थ्य सेवाको सहज पहुँचमा ल्याउँदै आधुनिक सुविधा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा २४ घण्टा इमरजेन्सी सेवा, ओपीडी, आईसीयू, एनआईसीयू, एचडियू, कम्प्रेहेन्सिभ म्याटरनिटी केयर, आधुनिक अपरेसन थिएटर, आफ्नै फार्मेसीलगायत सुविधा उपलब्ध छन् ।
त्यसैगरी, अस्पतालमा डा. विसीसँगै युरोलोजिस्ट डा. नरेशमान श्रेष्ठ, अर्थोपेडिक सर्जन डा. प्रतिक कार्की, ग्यास्ट्रोइन्टेरोलोजी सर्जन डा. प्रदीप थापा, बालरोग विशेषज्ञ डा. विवेक शाह र डा. सन्जय रिसालले सेवा दिनेछन् ।
कोहलपुरमा अत्याधुनिक एच एन्ड एच अस्पताल सञ्चालनमा आएसँगै बाँके र आसपासका नागरिकले अझ सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास गरिएको छ ।







प्रतिक्रिया (0)