तनहुँको म्याग्दे गाउँपालिकाले विपन्नकालागि सुरक्षित घर निर्माण गरिदिने
तनहुँ । म्याग्दे गाउँपालिकाले विपन्न नागरिकलाई सुरक्षित आवास उपलब्ध गराउने अभियानलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपाल सरकारको विशेष अनुदान योजनाअन्तर्गत १२ घर निर्माण गरिनेछ।
यो कार्यक्रम अन्तर्गत वडा नं. १ देखि ७ सम्मका आर्थिक रूपमा अति विपन्न परिवारलाई ‘नमुना आवास कार्यक्रम’ अनुसार घर निर्माण गरी हस्तान्तरण गरिने छ। लाभग्राही छनोटका लागि परिवार सदस्यमा कोही स्थायी रोजगार वा दिगो आयस्रोत नभएको, दैनिक श्रम वा कृषिमा आधारित जीवनयापन गर्ने, र विगतमा दोहोरो सुविधा नलिएको प्रमाण पेश गर्नुपर्नेछ।
अधिकारीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ४८ विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको थियो। यस वर्ष, विगतमा निवेदन दिएर छनोटमा नपरेका व्यक्तिहरूलाई पुनः आवेदन दिने अवसर दिइनेछ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले विपन्न, असहाय, अपाङ्गता भएका, सिमान्तकृत, अल्पसंख्यक र दलित समुदायका नागरिकलाई प्राथमिकतामा राखिने बताए। उपाध्यक्ष बालकृष्ण घिमिरेका अनुसार यो कार्यक्रमको उद्देश्य गाउँपालिकामा कोही पनि नागरिक घरविहीन नहोस् भन्ने हो।







प्रतिक्रिया (0)