के हुँदैछ कालीमाटी तरकारी बजारमा ?

विचौलियाको धन्दा छ कि व्यवसायीको व्यापार ? (फलोअप स्टोरी-भिडियो)

राम्रो पालिका 535

२ श्रावण, काठमाडौं उपत्यका र अन्य क्षेत्रको तरकारी तथा फलफुल बेचविखन गर्ने थलोको रुपमा २०४३ असोज १५  गतेबाट तत्कालिन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत कालीमाटी बजार सञ्चालनमा आएको हो । विकास समिति ऐन २०१३ अन्तर्गत २०५८ सालमा जारी गठन आदेश अनुसार कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले काठमाडौंको कालीमाटी र बालाजुमा बजार व्यवस्थापन गर्दै आइरहेका छन् ।

यसै बिच कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले २०६५ सालमा गरेको कालिमाटी बजारको ५ सय ६६ र बालाजु तरकारी बजारका ५६ गरी ६ सय २२ वटा पसलको १५ वर्षे करार सम्झौता २०८० असार मसान्तमा समाप्त हुनै लाग्दा सरकारले कालीमाटी फलफुल तथा तरकारी बजार विकास तथा सञ्चालन नियमावली २०६० को नियम ९ बमोजिम म्याद थप गरेका समाचारहरु बाहिर आएका छन्  । नियमावलीको नियम ८ को उपनियम २ मा १ वर्षसम्म म्याद थप गर्न सकिने व्यवस्था भएपनि विकास समितिले नियम ९ लाई टेकेर सम्झौता अवधी २ वर्ष थप गरेको विषय बद्नियतपूर्ण रहेको दावी गरिएको छ ।  नियम ९ अन्तर्गत थपिएको सम्झौता अवधी १५ वर्षे हुने व्यवस्था रहेकोले विकास समितिले पुराना व्यवसायीलाई नै १५ वर्षसम्मै नविकरण गर्दै लैजाने भित्रि उद्देश्य सहित उक्त निर्णय लिइएको बताइएको छ ।

साउन एक गतेदेखि सरकारी स्वमित्वका कालीमाटी तथा बालाजुको फलफुल–तरकारी बजारको सटरहरू व्यवस्थित प्रणाली बनाएर किसान तथा उपभोक्ता मैत्री बनाई भाडामा लगाउनुपर्नेमा पुरानालाई सिधै नवीकरण गरिदिने प्रयास तिव्र भएको अवस्थामा समयावधि सकिन एक हप्तामात्र समय बाँकी रहँदा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ प्रतिस्पर्धाको तयारी नै गरेको थिएन समितका सहयाक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्याल र प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले राम्रोपालिका टिम संगको कुराकानीको क्रममा कालीमाटी र बालाजु बजारमा हालका व्यापारीको म्याद सकिएको र अब के गर्ने भन्नेबारे छलफल भइरहेको बताएका थिए ।

१५ वर्षदेखि एकलौटी भाडामा पाएका व्यवसायीहरू कुनै पनि हालतमा बजारका पसलहरू आफ्नै नाममा नवीकरण गर्नपर्ने पक्षमा देखिएका  थिए । राम्रोपालिका टिमले  असार २६ र २७ गते बजारका केही व्यवसायीहरु र समितिका कर्मचारीसंग कुराकानी गरेको थियो । म्याद थपको पक्षमा व्यापारीहरुले गरेको जिकिरको आधार बलियो नदेखिएपनि अधिकांश व्यपारीहरु म्याद थप हुनेमा विश्वस्त देखिएका थिए ।

अहिलेकै व्यवसायीका नाममा सटर नवीकरण गराउने भन्दै व्यवसायीका अगुवाहरुले सरकारमा रहेका दलका नेताहलाई पटक पटक भेट गरेका र केही अगुवाहरुले  व्यवसायीबाट रकम संकलन गर्दै नेताहरुलाई आर्थिक सहयोगको प्रस्ताव समेत गरेको समाचारहरु बाहिर आइरहेको समयमा त्यस प्रकारको शंकालाई बल पुग्ने गरी बजार विकास समिति र मन्त्रालयले सम्झौता थप गर्ने निर्णय गरिदिएका छन् । भर्खरै समाजवादी मोर्चा, नेपालको गठन गर्दै त्यसको नेतृत्व लिएको नेकपा(एकीकृत समाजवादी)को उपाध्यक्ष नै कृषि तथा पशुपन्छी विकास मन्त्री भएको समयमा व्यवसायीको मर्का र किसानको समस्या समेतलाई मध्यनजर गरेर व्यवस्थापनको नयाँ ढाँचाको खोजी हुनुपर्नेमा चलखेलबाट प्रभावित भइ सोझै म्याद थपिएको विषयलाई सरोकारवालाहरुले आपत्तिजनक भन्दै संघर्ष गर्ने घोषणा गरिसकेका छन् । 

कुराकानीको क्रममा व्यवसायीहरुले विचौलिया शव्द प्रयोग गरेर फलफुल तथा तरकारीको विक्रेताहरुलाई अपमानित गरेको गुनासो गरे पनि  पनि कृषकहरुले नै तरकारी तथा फलफुल विक्रि गर्ने वर्तमान पारीपाटी विचौलियाकरण भएको र त्यसको मारमा परेर किसानहरु शोषित भइरहेको बताएका छन् । काभ्रे, मकवानपुर र धादिङका  अधिकांश किसानहरुसंग राम्रोपालिका डटकमले गरेका कुराकानीको क्रममा शत्प्रतिशत कृषकले कालीमाटी फलफुल तथा तरकारी बजारको व्यवस्थापनमा सुधार गरेर किसानमैत्री बनाउनुपर्ने बताउनुभएको छ  । 

कालीमाटी तरकारी बजारमा स्टल सम्झौता गर्ने व्यसायी पक्षले दुइवटा सहयोगी राख्न पाउने व्यवस्था छ । त्यस व्यवस्थाको दुरुपयोग गर्दै अधिकांश स्टल अनधिकृत रुपमा भाडमा दिएर दलालीकरण गरेको विषयलाई नियामक निकायले नजर अन्दाज गरेपनि किसानले नै त्यसरी भाडामा लिने व्यक्तिहरुको नाम नै लेखेर तरकारी र फलफुल बजारमा  पठाइरहेका छन् । किसानले चिनेका तर नियामक निकायले नचिनेझैं गरेर यस्तो अव्यवस्थालाई निरन्तरता दिएको सन्दर्भमा यसलाई कृषि तथा पशुपन्छि  विकास मन्त्रीज्यूको ओरालो यात्राको रुपमा हेरिएको छ ।

राम्रोपालीका टिमले यो सामग्री तयारीको क्रममा कालीमाटी बजारमा किसानको लागि छुट्याइएको होल्डीङ यार्ड , अक्सन एरिया र सहकारी तथा समूहले प्रयोग गरिरहेका सटरहरु समेत किसान र उपभोक्तामैत्री रुपमा चलाउन सकेको अवस्था देखिएन ।

कालीमाटी तरकारी बजार: विचौलियाको धन्दा छ कि व्यवसायीको व्यापार ? आगामी दिनमा  हामीले यो लगायत अन्य विषयहरुमा थप सुचना, समाचार श्रव्यदृश्य  सामग्री तयार गरी प्रसारण गर्नेछौं । वास्तविक पत्रकारिताको स्वाद प्राप्त गर्न तथा हामीलाई हौसला दिन  राम्रोपालिका डटकमको युट्युव च्यानल सब्सक्राइब  गर्नुहोला  र  साथ साथै फेसबुक पेज (https://www.facebook.com/profile.php?id=100083503749049)पनि फलो गर्नुहोला ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *