गुरुङ समुदायको ट्होटें पर्व मनाउन लमजुङको क्व्होलासोथारमा सार्वजनिक बिदा

राम्रो पालिका संवाददाता 42

नवीनराज कुइँकेल
लमजुङ। लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले आज आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

ट्होटें पर्व मनाउन लमजुङको क्व्होलासोथार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गुरुङ जातिको साँस्कृतिक पर्वको ट्होटेको अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो ।

ट्होटे पर्वको अवसरमा गाउँपालिका वा अन्तर्गतका कार्यालयहरु, वडा कार्यालयहरु, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरु, सबै विद्यालयहरु तथा अन्य संघ संस्थाहरुमा बिदा दिइएको छ । गुरुङ समुदायको बाक्लो उपस्थिति रहेकाले कार्यापालिका बैठकले स्थानीय बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्लेले बताउनुभयो ।

गुरुङ जातिले विगतमा आफ्नो ट्हो वा राज्य सुरक्षाका लागि साउन र चैत महिनाको अन्तिम मङ्लबारमा ट्होटें मनाउदै आएका हुन् । ट्होटें पर्वका दिन तमु राज्यमा बसोवास गर्नेहरुले राज्यभित्र देखिएका बैरी वा शत्रुहरुलाई राज्यको सिमा कटाउदै ट्हो संरक्षण गरेको परम्परागत इतिहास भएको मानिन्छ । गुरुङ भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टेंको अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *