ताप्लेजुङकै एक दुर्गम ग्याब्ला गाउँमा लघु जलविद्युत योजना निर्माण हुने
SONY DSC
ताप्लेजुङ। ताप्लेजुङकै एक दुर्गम लेलेपको ग्याब्ला गाउँको विद्युतीकरणका लागि लघु जलविद्युत् योजना निर्माण हुने भएको छ। पर्यटकीय क्षेत्रका रूपमा समेत रहेको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्याउन नागपोखरी लघु जलविद्युत् योजना निर्माण गरिने भएको गोरखापत्र अनलाइनले लेखेको छ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा पदमार्गअन्तर्गत ग्याब्ला गाउँ पर्दछ। यही पर्यटकीय तथा दुर्गम गाउँमा विद्युतीकरणको पहुँच पुर्याउन लघु जलविद्युत् योजना निर्माण गर्न लागिएको हो। फक्ताङ्लुङ गाउँपालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले योजना निर्माण गरिदिने भएको हो।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र गाउँपालिकाको साझेदारीमा कुल १५ किलोबाट क्षमताको नागपोखरी लघु जलविद्युत् योजना निर्माण गर्नेगरी प्रक्रिया सुरु भएको फक्ताङ्लुङ गाउँकार्यपालिका सदस्य मिङ्माडण्डु शेर्पाले जानकारी दिनुभयो। शेर्पाका अनुसार योजना निर्माणमा लाग्ने कुल लातग रकममध्ये गाउँपालिकाको १० प्रतिशत र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको ९० प्रतिशत लगानी रहने छ।
लघु जलविद्युत् योजना निर्माण गर्न कुल एक करोड ७२ लाख ८८ हजार १८१ रुपियाँ रकम खर्च हुने भएको छ। उक्त कुल रकमको १० प्रतिशत बराबर १७ लाख २८ हजार ८१८ रुपियाँ रकम गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको खातामा जम्मा गरिसकेको जनाएको छ। यता योजना निर्माणका लागि बजेट सुनिश्चित भएसँगै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले बोलपत्र आह्वानको प्रक्रियासमेत सुरु गरी सकेको कार्यपालिका सदस्य शेर्पाले जानकारी दिनुभयो।
उहाँका अनुसार ऊर्जा प्रवर्धन केन्द्रमार्फत सुरु भएको बोलपत्रको प्रक्रिया करिब डेढ महिनासम्ममा पूरा हुने र योजना निर्माणको काम अघि बढ्ने छ। पर्यटकीय क्षेत्र भएर पनि विकट तथा दुर्गम भेग भएका कारण ग्याब्ला गाउँ विद्युतीय पहुँचमा पुग्न नसकेको पर्यटन व्यवसायी बताउँछन्। विद्युत योजना निर्माण भएपछि भने करिव तीन दर्जन परिवारको बसोवास रहेको ग्याब्लाका बासिन्दा र कञ्चनजङ्घा भ्रमणमा आउजाउ गर्ने पर्यटकलाई सहज हुने छ।







प्रतिक्रिया (0)