सुनसरीको देवानगञ्जका सुकुम्वासीलाई धनीपुर्जा

राम्रो पालिका संवाददाता 52

जयकृष्ण यादव

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिकाले “खुसी किसान, देवानगञ्जको पहिचान” भन्ने नाराका साथ ६ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण गरेको छ ।

दोस्रो लटमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पत्र (लाल पुर्जा) वितरण नेपालमा दोस्रो र कोशी प्रदेशमा पहिलो स्थानीय तहको रूपमा देवानगञ्ज गाउँपालिकाले वडा नं. ३ का छ जना भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरेको हो ।

कार्यक्रम राष्ट्रिय भूमि समाधान आयोग, सुनसरीको समन्वय र देवानगञ्ज गाउँपालिका गाउँ कार्यपालिकाको आयोजना गरि धनीपुर्जा वितरण गरेको हो । कार्यक्रमले विगत लामो समयदेखि भूमिविहीन अवस्थामा जीवन यापन गर्दै आएका दलित तथा सुकुम्वासी समुदायलाई स्थायी बसोवासको सुनिश्चितता गर्दै उनीहरूलाई सम्मानपूर्वक जीवन जिउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले बताउनुभयो ।

उहाँले कार्यक्रमको उद्घाटन गर्दै देवानगञ्ज गाउँपालिकाले सामाजिक न्याय र समावेशीतालाई व्यवहारमा उतार्ने गरी काम गरिरहेको उल्लेख गर्नुभयो । “भूमिविहीनलाई जग्गा अधिकार दिनु मात्र विकासको मूल आधार हो,” उहाँले भन्नुभयो, “हामी सानो सुरुवात गरेका छौँ । गाउँपालिका भरी रहेका सुकुम्वासीहरूको समस्या समाधान गर्न लागि परेका छौं । क्रमशः हामी उहाँहरूको समस्या समाधान गर्दै जाने छौं । बाँकी रहेकाहरूको समस्या समाधान गर्ने प्रतिबद्धता गर्दछु उहाँले भन्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले सरकार र स्थानीय तहबिचको सहकार्य मार्फत देशभरका भूमिविहीन नागरिकलाई न्याय सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले देवानगञ्ज गाउँपालिकालाई कोशीको पहिलो स्थानीय तहको रूपमा प्रमाण–पत्र वितरण गरेकोमा बधाई ज्ञापन गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि आयोगका विज्ञ सदस्य डा. जगत बस्नेतले यो कार्यले सामाजिक रूपान्तरणको नयाँ अध्याय सुरु गर्ने बताउनुभयो । कार्यक्रममा भूमि समस्या समाधान आयोगका सदस्य अनिलकृष्ण प्रसाई, देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादव, प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी सबै वडाका वडाध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *