बारपाक सुलिकोट गाउँपालिकाको शिक्षामा लगानी: विद्यार्थीलाई एमबीबीएस पढ्न २० लाखदेखि एसईईमा उत्कृष्टलाई नगद पुरस्कारसम्म
काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले शिक्षामा पालिकावासीको पहुँच बढाउन र प्राविधिक जनशक्ति उत्पादन गर्न ठूलो लगानी सुरु गरेको छ ।
पालिकाले विपन्न, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गर्दै इन्जिनियरिङ र एमबीबीएस जस्ता उच्च प्राविधिक शिक्षादेखि स्नातक र स्नातकोत्तर तहसम्म छात्रवृत्ति उपलब्ध गराउन थालेको हो । शिक्षामा पालिकावासीको पहुँच बढाउने उद्देश्यले गत आर्थिक वर्षबाट यो कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।
विपन्न एवं अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले बताए । उनका अनुसार विपन्न परिवारका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि नेपाल सरकारले तोकेको कलेज शुल्कको ५० प्रतिशत पालिकाले व्यहोर्नेछ । चार वर्षको कोर्ष पूरा गर्न लाग्ने अनुमानित ४० लाख रुपैयाँमध्ये २० लाख रुपैयाँ पालिकाले कलेजलाई सिधै भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । यसका लागि प्रत्येक वर्ष पाँच लाखका दरले कलेजलाई शुल्क बुझाइने र हाल एक जना विद्यार्थी पालिकाको यही छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छन् ।
एमबीबीएस मात्र नभएर पालिकाले नर्सिङ र एचए कोर्षमा पनि छात्रवृत्ति लागू गरेको छ, जसमा हाल दुई जना विद्यार्थी अध्ययनरत छन् । यसका साथै इन्जिनियरिङ र प्राविधिक शिक्षामा पनि छात्रवृत्ति प्रदान गर्दै आएको पालिकाले जनाएको छ । बराम समुदायको बाहुल्यता रहेको यस पालिकाले ऐतिहासिक रूपमा शिक्षामा पछाडि परेका बराम र दलित समुदायका विद्यार्थीलाई स्नातक र स्नातकोत्तर अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । नेपाल अधिराज्यभर जहाँ पढे पनि कलेज शुल्क सबै पालिकाले तिर्ने नीति अनुरूप गत वर्ष स्नातक तह अध्ययनका लागि पाँच जनालाई छात्रवृत्ति उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत आलेले जानकारी दिए ।
अभिभावकविहीन विद्यार्थीका लागि पालिकाले निःशुल्क छात्रावास समेत सञ्चालन गरेको छ । वडा नम्बर ६ बहाकोटमा रहेको मनास्लु छात्रावासमा हाल २३ जना विद्यार्थी आवासीय सुविधासहित बस्दै आएका छन् । ती विद्यार्थीहरूलाई स्थानीय सूर्यज्योति माध्यमिक विद्यालयमा निःशुल्क अध्ययन गर्ने व्यवस्था पालिकाले मिलाएको छ। शैक्षिक सत्र २०८१ सालबाट सञ्चालनमा आएको यस छात्रावासमा कक्षा १ देखि १२ सम्म पढ्ने अभिभावकविहीन विद्यार्थीहरूलाई राखेर पालनपोषण देखि अध्यापन गराउने जिम्मा पालिकाले लिएको छ, जहाँ एक जना होस्टल वार्डेनसहित अन्य कर्मचारी खटाइएको छ । एसईई पश्चात् बारपाक बहुप्राविधिक शिक्षालयमा पशु तथा बाली विज्ञान पढ्न चाहनेलाई समेत निःशुल्क अध्ययनको व्यवस्था गरिएको छ ।यसैगरी, विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र शैक्षिक गुणस्तर सुधार्न पालिकाले एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कारले सम्मान गर्ने गरेको छ । ४ जीपीए ल्याउने विद्यार्थीलाई नगद १ लाख रुपैयाँ र कदरपत्रले सम्मान गर्ने नीति अनुरूप गत वर्ष र यस वर्ष गरि दुई जना विद्यार्थी सम्मानित भइसकेका छन् । शिक्षामा पछाडि परेका वर्गलाई अग्रसर बनाउँदै पहुँच वृद्धि गर्ने उद्देश्यले पालिकाले यो प्रोत्साहन भत्ताको सुरुवात गरेको हो ।
यसका अतिरिक्त पालिकाले जीपीएका आधारमा विभिन्न नगद पुरस्कारको घोषणा गरेको छ । जसअन्तर्गत ३.९ जीपीए ल्याउनेलाई ५० हजार, ३.८ जीपीए ल्याउनेलाई २५ हजार र ३.७ जीपीए ल्याउनेलाई २० हजार रुपैयाँ नगद उपलब्ध गराइनेछ । त्यस्तै, ३.६ जीपीए ल्याउने विद्यार्थीलाई १५ हजार रुपैयाँ र ३.४ देखि ३.५९ सम्म जीपीए ल्याउने विद्यार्थीलाई जनही १० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।







प्रतिक्रिया (0)