चक्रपथमै चिनियाँ नयाँ वर्ष मनाउन बालेनको सुझाव: चिनियाँ दूतावासको कार्यक्रमलाई ठमेलमा अनुमति अस्वीकार
काठमाडौं — चिनियाँ नयाँ वर्षका अवसरमा ठमेलमा कार्यक्रम गर्न अनुमति माग्दै आएको चिनियाँ दूतावासलाई काठमाडौं महानगरले चक्रपथ क्षेत्रमा कार्यक्रम गर्न सुझाव दिएको छ।
चिनियाँ दूतावासका डिपुटी चिफ अफ मिसन वाङ सिनले एक साता अगाडि काठमाडौं महानगरलाई पत्र लेख्दै २०२५ को स्प्रिङ फेस्टिभल तथा नयाँ वर्षको अवसरमा जनवरी २६ देखि फेब्रुअरी २५ सम्म ठमेल क्षेत्रमा कार्यक्रम गर्न अनुमति मागेका थिए। तर, महानगरले सो कार्यक्रमलाई ठमेलमा अनुमति दिन अस्वीकार गरेको छ।
महानगरले ठमेलको सट्टा चक्रपथ क्षेत्रको कलंकीदेखि महाराजगञ्जसम्म कार्यक्रम आयोजना गर्न सुझाव दिँदै जवाफ पठाएको छ।
चक्रपथ निर्माण विवाद र चिनियाँ कम्पनीको भूमिका
चक्रपथको सो क्षेत्रको निर्माण कार्य चिनियाँ कम्पनीले जिम्मा लिएर अलपत्र पारेको छ। लामो समयदेखि अधुरो रहेको सडक निर्माणले स्थानीयवासीलाई सास्ती बनाउँदै आएको छ। यसै सन्दर्भमा, काठमाडौं महानगरले यसअघि चक्रपथको काम अधुरो रहेको भन्दै त्यहाँ बोर्डसमेत राखेको थियो।
तर, उक्त कदमले सडक विभागसँग विवाद चर्किएको थियो। सार्वजनिक सूचना जारी गर्दै सडक विभागले महानगरको कदमको विरोध गरेको थियो। यसपछि, विवाद थप गहिरिँदा महानगरले सडक विभागको कार्यालय अगाडि फोहोर फालेर विरोध गरेको थियो।
महानगरको यो निर्णयले चिनियाँ नयाँ वर्षको कार्यक्रमबारे थप बहस र चर्चा सुरु गराएको छ।







प्रतिक्रिया (0)