पाल्पाको रामपुरमा चौथो सांस्कृतिक महोत्सव सुरु

राम्रो पालिका संवाददाता 98

पाल्पा। रामपुरमा चौथो रामपुर महोत्सव तथा व्यापार मेला सुरु भएको छ । मौलिक संस्कृतिमा आधारित झाँकी प्रदर्शनी सहित सुरु भएको मेलाको वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले समुद्घाटन गर्नुभएको हो ।

कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन एवं उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ सुरु रामपुर उद्योग वाणिज्य सङ्घको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा मेला सुरु भएको हो । ‘आर्थिक समृद्धिका लागि उद्योग र व्यापार कालीगण्डकी उपत्यका विकासको आधार’ भन्ने नाराका साथ भएको मेलामा पहिलो दिन कालीगण्डकी वेशी क्षेत्रमा रहेका जातजाति र समुदायको संस्कृतिमा आधारित झाँकी प्रर्दशन गरिएको थियो ।

पञ्चेबाजा, मगर समुदायको मारुनी, कौरा, झ्याउरे, गुरुङ समुदायको घाटु, लामा नाच, नेवार समुदायको लाखे, लोपन्मुख दशावतार वालन सहित भुजेल, दरै, कुमाल, ठकुरी, क्षेत्री समुदायले आ–आफ्‌ना भेषभुषा सहित संस्कृति प्रदर्शन गरेका थिए । झाँकी र्‍यालीमा यहाँका सङ्घ संस्था र विद्यालयहरू पनि सहभागिता जनाएका थिए ।

रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले चौथो संस्करणको मेला विशेष गरी कालीगण्डकी वेशी क्षेत्रकोे पहिचान, स्थानीय उत्पादनको बजारीकरण, कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन एवं प्रचारप्रसार सँगै उद्योग, व्यापार र पर्यटनको सम्भावनाको उजागर गर्ने उद्देश्यका साथ मेला सञ्चालन गरिएको जानकारी दिनुभयो । मेलामा ३ सय ५० भन्दा बढी व्यापारिक स्टलहरू मध्ये स्थानीय कृषि उपज, घरेलु तथा कुटीर उद्योग, हस्तकला तथा महिला उद्यमीले उत्पादन गरेका सामग्री, मौलिक खानाका परिकारलाई प्रथामिकता दिइएको बताउनुभयो ।

साथै विभिन्न जातजातिहरू मगर, नेवार, दरै र चेपाङको मौलिक खानाका लागि चार वटा स्टल राखिने जानकारी दिनुभयो । विगतको तुलनामा मेलालाई थप परिस्कृत र सुधार गरी सञ्चालन गर्ने तयारी गरिएको छ । मेलामा दुई देखि तीन लाख दर्शक भित्र्याउने र एक करोड २० लाख आम्दानी गर्ने लक्ष्य लिएको सङ्घले जनाएको छ ।

रामतुलसी माविको खेल मैदान बेझाँडमा १३ दिन सम्म सञ्चालन हुने मेलामा प्रतिष्ठित उद्योग बाट उत्पादित सामग्री तथा स्थानीय उत्पादन सहितको व्यापारिक स्टल, बालउद्यान, कृषि प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनी, मौलिक खानाका परिकार बिक्री वितरण, घरेलु तथा साना उद्योग एवं महिला उद्यमीबाट उत्पादित बस्तु प्रदर्शनी तथा बिक्री हेलिकाेप्टर, प्यारागलाइडिङ बाट दृश्य अवलोकन, अन्डर वटर फिस टनेल, दैनिक राष्ट्रिय कलाकारहरूको प्रस्तुति सहित लोक दोहोरी प्रतियोगिता, रामपुर डान्स आइडल, ऐतिहासिक धार्मिक, एवं पर्यटकिय स्थलको फोटो प्रदर्शनी आकर्षणको रूपमा रहेको छ ।

रामपुर मेला समुद्घाटनमा लुम्बिनी प्रदेशका पूर्व मन्त्री विरबहादुर राना, लुम्बिनी प्रदेश सभा अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा लगाएत, विभिन्न राजनैतिक दलको उपस्थिति रहेको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *