संघीय संसदका दुवै सदनको बैठक आज , प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं ; संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ।
आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने तयारी गरेको छ। तर प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत भएपनि राष्ट्रिय सभामा सरकारको बहुमत नहुँदा अध्यादेश स्वीकार हुने नहुनेमा अन्योल देखिएको छ।
अध्यादेश स्वीकृत गर्ने नगर्ने निर्णायक भूमिकामा जसपा नेपाल रहँदा उसले सत्ताको बार्गेनिङ सुरू गरेको छ र अप्ठ्यारो अवस्थामा पर्दा सतारुढ गठबन्धन भित्र विशेष गरेर नेकपा एमाले र नेपाली कांग्रेस लचिलो पनि बन्दै गएका छन्।
सरकारले ल्याएको अध्यादेश स्वीकृत अस्वीकृत के हुने भन्नेमा राष्ट्रिय सभामा ३ सीट रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक बनेपछि सत्ता राजनीतिको खेल सुरू भएको हो। आजको संसदको कार्यतालिका अनुसार सरकारले २ पटक गरेर ल्याएको ६ वटै अध्यादेश दुवै सदनमा निर्णायार्थ पेश हुँदैछ।
अध्यादेश दुवै सदनबाट स्वीकार भयो भने प्रतिस्थापन विधेयक ल्याउन बाटो खुल्ने छ र स्वीकृत नभए अध्यादेश निस्कृय हुनेछ। संविधानले अध्यादेश दुवै सदनबाट बहुमतले स्वीकृत हुनुपर्ने परिकल्पना गरेको छ।
५९ सदस्यीय राष्ट्रिय सभामा अध्यादेशको विपक्षमा उभिएका प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रको १७ जना सांसद छन। त्यसैगरि एकीकृत समाजवादीका ८ जना र जनमोर्चाका १ गरी २६ जना विपक्षमा हुन्छन्। सत्तापक्षका भने २८ जना सदस्य मात्रै छन् र बहुमतका लागि ३० जना चाहिन्छ। यस्तोमा जसपा नेपालले विपक्षीलाई साथ दियो भने अध्यादेश स्वतः अस्वीकार हुन्छ भने सत्तापक्षलाई साथ दिएमा स्वीकार हुन्छ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने कार्यतालिका समेत छ।







प्रतिक्रिया (0)