मुगुमा महत्वपूर्ण जडीबुटी उत्पादनमा हुँदैछ कमी
मुगु । जडीबुटी उत्पादनको धनी जिल्ला भनेर चिनिने मुगुमा अहिले जडीबुटी उत्पादनमा कमी आएको छ । जिल्लाका पाटन क्षेत्र र सामुदायिक वनमा जडीबुटी कम पाइन थालेपछि यसमा निर्भर स्थानीयको आम्दानी पनि घट्दै गएको छ ।
जिल्लाको सोरु गाउँपालिका, खत्याड गाउँपालिका, छायानाथ रारा नगरपालिका र मुगमकार्मारोङ गाउँपालिकाका सामुदायिक वन र पाटन क्षेत्रमा जडीबुटी घट्न थालेको हो । यहाँ पाइने गुच्ची च्याउ, कटुकी, यार्चागुम्बा, अतिस, वनलसुन, विषजरा, पदमचाल, सेतकचिनी, सुगन्धवाल, सुनपाती, पाँचऔँले, सतुवा जस्ता जडीबुटी पर्याप्त मात्रामा नपाइएपछि यसमै निर्भर भएकाको दैनिक घरखर्चको जोहो गर्नसमेत गाह्रो परेको छ ।
छायानाथ रारा नगरपालिका–६ का स्थानीयका अनुसार आफूहरूको प्रमुख आयस्रोत भनेकै जडीबुटी भएको र अहिले यसको उत्पादन कम भएपछि समस्या परेको छ । स्थानीयको जडीबुटीले नै घरपरिवार धानेको जीवन जडीबुटीमा काम नपाएपछि घरपरिवारको जोहो गर्न छिमेकी राष्ट्र भारत जानुपर्ने अवस्था आएको छ ।
जिल्लाबाट आर्थिक वर्ष २०८०/८१ यता २६ हजार किलो जडीबुटी निर्यात भएको तथ्याङ्क छ । जसबाट एक लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।
स्थानीय जडीबुटी व्यापारी पञ्चबहादुर ऐडीले ग्रामीण बस्तीमा पहिलेको जस्तो पर्याप्त मात्रामा जडीबुटी नपाउने गरेको बताए । उनी भन्छन् “मुस्किलले छ देखि आठ क्विन्टलसम्म जडीबुटी पाउने गरेको छ, सम्बन्धित निकायले जडीबुटी उत्पादनसम्बन्धी दिगो विकासको रणनीति ल्याउन जरुरी छ ।”
यता जिल्ला डिभिजन वन कार्यालयका अनुसार जडीबुटी उत्पादन र संरक्षणका निम्ति डिभिजन वन कार्यालयले हरेक वर्ष समुदायका अगुवा व्यक्तिलाई क्षमता विकाससम्बन्धी तालिम दिदैँ आएको छ ।
डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख गोविन्द महतका अनुसार छिमेकी जिल्ला हुम्ला र जुम्लाका स्थानीयले जडीबुटी चोरीनिकासी गर्नाले र जडीबुटी पाक्ने समयमा सङ्कलन नगरी असार र साउनमा सङ्कलन गर्नाले उत्पादनमा कमी आएको छ ।







प्रतिक्रिया (0)