व्यापार नै नहुने देशमा महावाणिज्य दूतावास खोल्दै सरकार

राम्रो पालिका संवाददाता 66

काठमाडौं । पछिल्लो समय राजनीतिक दलका नेता र सरकारी कर्मचारीको स्वार्थ मिलेकै कारण औचित्य नभएका स्थानमा पनि महावाणिज्य दूतावास खोल्ने प्रवृत्ति विकास भएको छ । महावाणिज्य दूतावासको स्थापना व्यापार सहजीकरणका लागि हो । व्यापार नै कम भएको र तत्काल बढ्ने सम्भावना पनि नभएको स्थानमा महावाणिज्य दूतावास खोल्नु राज्यकोषको दोहनमात्र हो । महालेखा परीक्षकको कार्यालयले जथाभाबी महावाणिज्य दूतावास खोलेकोमा प्रश्न उठाउने गरेको छ ।

सरकारले चीनको ग्वान्जाओमा महावाणिज्य दूतावास खोल्ने निर्णय गर्दा निजामती सेवा ऐन उल्लंघन गरेको भन्दै महालेखाले उक्त निर्णयलाई कानुनविपरीत ठहर गरेको थियो । त्यसलाई पनि बेवास्ता गरिएको छ ।

न्यूयोर्कमा रहेको महावाणिज्य दूतावासको कार्यालयमा उपसचिवको नेतृत्व रहँदै आएकोमा अबदेखि सहसचिवको नेतृत्वमा महावाणिज्य दूतावासको कार्यालय सञ्चालन हुने गरी स्तरोन्नती गर्ने निर्णय सरकारले गरेको छ । यसअघि सरकारले अमेरिकाको थप दुई स्थान र संयुक्त अरब ईमिरेट्सको दुबईमा महावाणिज्य दूतावासको कार्यालय खोल्ने निर्णय गरेको थियो ।

नयाँ खुल्ने महावाणिज्य दूतावासमा उपसचिवको नेतृत्व रहने छ । साथै सरकारले न्यूयोर्कमा रहेको महावाणिज्य दूतावाससँगै साउदी अरेबियाको जेद्दामा रहेको महावाणिज्य दूतावासलाई समेत स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

सरकारको निर्णय अनुरुप त्यसको कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयले आन्तरिक तयारी अघि बढाइसकेको जनाएको छ । नयाँ स्थापना हुने र स्तरोन्नती गरिने सबै महावाणिज्य दूतावासको सन्दर्भमा परराष्ट्र मन्त्रालयले काम अघि बढाएको प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

परराष्ट्रले यसका लागि आवश्यक पर्ने कर्मचारीको प्रबन्ध गर्न कर्मचारीको संख्या बढाउनेदेखि आन्तरिक बढुवाको कार्यलाई अघि बढाएको स्रोतले जानकारी दियो । परराष्ट्रलाई अक्टुबर ७ मा विभिन्न पदका १ सय ७ जनाको स्थायी दरबन्दी खोल्नको लागि मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

संयुक्त अरब ईमिरेट्सले दुबईमा नेपालको महावाणिज्यदूतावासको कार्यालय खोल्न अनुमति दिइसकेको छ भने अमेरिकाको दुई सहरमा महावाणिज्य दूतावास खोल्नका लागि परराष्ट्र मन्त्रालयले अमेरिकाको अनुमति पर्खिरहेको छ ।

अमेरिकाबाट अनुमति छिट्टै प्राप्त हुने अपेक्षा गर्दै अनुमति पाएलगत्तै परराष्ट्रको टोलीले टेक्ससको डलास र क्यालिफोर्नियाको सानफ्रान्सिस्कोको भ्रमण गरी महावाणिज्य दूतावासको लागि आवश्यक प्रक्रिया अघि बढाउने परराष्ट्र स्रोतले जानकारी दियो ।
थप ३ स्थानमा महावाणिज्य दूतावास खुले नेपालको कुल १० वटा महावाणिज्य दूतावास हुनेछन् ।

नेपालको चीनमा तीन वटा, भारत, हङकङ, साउदी अरब जेद्दा र अमेरिकाको न्यूयोर्कमा एक–एक वटा महावाणिज्य दूतावास रहेका छन् । लामो समयदेखि अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले क्यालिफोर्निया र टेक्ससमा महावाणिज्य दूतावासको माग गर्दै आएका थिए । अमेरिकाको टेक्ससमा नेपालको महावाणिज्य दूतावास खुलेको खण्डमा टेक्ससको डलासमा महावाणिज्य दूतावास खोल्ने एसियाको नेपाल पहिलो देश बन्नेछ ।

टेक्ससको डलासमा क्यानडा, मेक्सिको, इक्येडर, पेरु, इटली, डेनमार्क, बेल्जियम, विलिज, एल साल्भाडोर, कोस्टारिका र होन्डुरसको महावाणिज्य दूतावास छन् भने फ्रान्स, स्वीडेन, स्वीजरल्याण्ड र बोलिभियाको वाणिज्य दूतावास छन् ।

जापान, चिली, रोमानिया, नेदरल्याण्ड, माल्टा, आइसल्याण्ड र फिनल्याण्डले मानार्थ वाणिज्य दूतावास राखेर काम गरिरहेका छन् । अन्य एसियाली तथा दक्षिण एसियाली देशहरु जसको महावाणिज्य दूतावास टेक्ससमा छ, अधिकांशले ह्युष्टन सहरमा महावाणिज्य दूतावास कार्यालय खोलेका छन् ।

चीन तथा दक्षिण एसियाली मुलुकहरू भारत, पाकिस्तान र बंगलादेशले टेक्ससको ह्युष्टनमा महावाणिज्य दूतावास राखेका छन् । ह्युष्टनमा ५१ देशका महावाणिज्य दूतावास कार्यालय रहेका छन् ।

टेक्ससको राजधानी अस्टिनमा भने ३ वटा देशले मात्र महावाणिज्य दूतावास राखेका छन् । टेक्ससको विभिन्न सहरमा गरी ९८ वटा देशको महावाणिज्य दूतावास रहेको छ ।

यस्तै, क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा ४० वटा देशको ४१ वटा महावाणिज्य दूतावासको कार्यालय रहेको छ । मेक्सिकोले सानफ्रान्सिस्को र सानफ्रान्सिस्को नजिक सानजोशेमा महावाणिज्य दूतावासको कार्यालय राखेको छ ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *