म्यादीको माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

राम्रो पालिका संवाददाता 71

म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

तुँदी पावर प्रवर्धक रहेको आयोजनाले बाँध, विद्युत् गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत्गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो। सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए।

‘हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ’, उनले भने, ‘विद्युत् गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ।’

तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत् गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए।

रघुगङ्गा- ७ चिमखोलामा बाँध र रघुगङ्गा- ४ दग्नामको फेदीमा विद्युत् गृह रहेको यस आयोजनाको सुरुङ चार हजार ९०० मिटर लामो छ। ‘आउटलेटबाट विद्युत् गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब १०० मिटर मात्र बाँकी छ। विद्युत् गृहबाट उत्पादन भएको विद्युतलाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ’, उनले भने।

तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण शुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए। उनका अनुसार रघुगङ्गा- ८ को बन्दीमा बाँध, रघुगङ्गा-७ को चिमखोलामा विद्युत् गृह र पाँच हजार ३२८ मिटर लामो सुरुङको सबै काम सकिएको छ।

मङ्गले राहुघाटको विद्युत गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ। दुईवटै आयोजनाको अनुमानित लागत रु १३ अर्ब रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले जनाए।

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा-३ अम्बाङमा बन्न लगेको राहुघाट सब स्टेसनबाट चिमखोलासम्म २०० केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सब स्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ। राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन्।

राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ। रासस

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *