चार करोड लगानीमा भुमेथानलाई धार्मिक पर्यटकीय स्थल बनाईदैं

राम्रो पालिका संवाददाता 101

ठाकुरप्रसाद आचार्य

म्याग्दी । बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिने भएको छ ।

संघीय सरकारको चार करोड रुपियाँ बजेटमा सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले बहुवर्षीय ठेक्का लगाएर प्रशिद्ध भुमेथान, शिवालय क्षेत्र पूर्वाधार निर्माण योजनामार्फत् पर्यटकीय संरचनाहरु निर्माण गर्न लागेको कार्यालयका इन्जिनियर गोपीचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा निर्माण सुरु गर्नेगरी योजना ठेक्का प्रक्रिया सुरु गरिएको छ ।

योजना अन्तर्गत भुमेथान परिसरमा ग्यावियन तथा मेसिनरी पर्खाल निर्माण, ढुङ्गा छपाउने, शौचालय निर्माण र भुमेथानदेखि बराह शिवालय मन्दिर जानका लागि आकर्षक पदमार्ग निर्माण गरिने भएको छ । पाँच सय मिटर दूरी रहेको उक्त पदमार्गको चौढाई तीन मिटर हुनेछ । पदमार्गमा ढुङ्गा छपाएर व्यवस्थित गरिने छ ।

यसैगरी शिवालय क्षेत्रमा टेवा पर्खाल निर्माण गर्ने योजना भएको कार्यालयका इन्जिनियर आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको बैशाख महिना भित्रमा योजना ठेक्का सम्झौता भई १८ महिनाको अवधिमा निर्माण सम्पन्न गर्ने कार्यालयको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

गौशाला, देवालय शिवालय र भुमेथान क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण थालिएको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाको मुख्य धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।

“भुमेथानस्थित भुमेठाकुरको दर्शन, पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासले वर्षेनी करिब पचास हजारभन्दा बढी भक्तजनहरु यहाँ आउने गर्नुहुन्छ,” पालिका अध्यक्ष आचार्यले भन्नुभयो, “यस क्षेत्रमा रहेका धार्मिक स्थलमा पूर्वाधार निर्माण गरी गौशाला, देवालय शिवालय,भुमेथान,कालाञ्जर पर्वत र जलजला क्षेत्रलाई जोडेर धार्मिक सर्किटको रुपमा विकास गर्ने पालिकाको लक्ष्य छ ।”

संघ, प्रदेश र स्थानीय तहको लगानीमा अहिले कालञ्जर, जलजला र गौशाला क्षेत्रमा पनि करिब ८ करोडभन्दा बढी लगानीमा पूर्वाधार निर्माण सुरु गरिएको उहाँले बताउनुभयो।

प्रशिद्ध धार्मिक स्थल भुमेथानलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले ११ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर पहिलो चरणमा संघीय सरकारले चार करोड रुपियाँ बजेट स्विकृत गरी योजना अघि बढेको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो ।

भुमेथान क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएपछि धार्मिक पर्यटक आगमनमा थप वृद्धि हुने अपेक्षा गरिएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।गोखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *