बागलुङको निसिखोला गाउँपालिकाले घटायो बेरुजु

राम्रो पालिका संवाददाता 93

नवराज नेपाली
बागलुङ । बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा पर्ने निसिखोला गाउँपालिकाले अरू पालिकाहरूमा बेरुजु बढिरहेका बेला यहाँको निसिखोला गाउँपालिकाले बेरुजु घटाउने अभियान चलाएको छ । चालु वर्षको ८ महिनामै पालिकाले सात करोड बेरुजु घटाएको छ ।

चार वर्षदेखि बढेको बेरुजुलाई अभियानकै रूपमा घटाएको प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले बताउनुभयो । प्रक्रियागत बेरुजु, अनियमित भएकोलाई नियमित बनाउने र कागजात नपुगेकाको खोजी गर्ने काम भइरहेको उहाँको भनाइ छ ।

२०७७÷०७८ मा दुई करोड पाँच लाख, ०७८÷०७९ मा पाँच करोड ३० लाख र २०७९÷०८० मा सात करोड ९२ लाख रहेको बेरुजु चालु वर्षमै घटेर एक करोड ४२ लाख मात्रै बाँकी रहेको हो । ‘‘कारोबार गरेपछि एकपटक पनि कागजान नहेर्ने हो भने त अर्बौं बेरुजु हुने रहेछ,’’ पुनले भन्नुभयो, ‘‘म आउँदा धेरै बेरुजु भएकाले पहिलो काम रूपमा बेरुजु अन्त्यको अभियानमा लागेपछि बरुजु कम भएको र चालु आर्थिक वर्षको अन्त्यसम्म यो रकम पनि घटेर लाखमा मात्रै सीमित हुने छ ।’’

काम गरेर पनि प्रक्रिया नपुर्‍याएकाले यतिधेरै बेरुजु आएको उहाँ बताउनुहुन्छ । गत कात्तिकमा आएका पुनले कागजात खोज्ने, कानुन बाझिएर दिइएका भुक्तानी रोक्ने, रुजु गर्ने काम गर्दा यतिको सफलता मिलेको हो । ग्रामीण क्षेत्रका सानासाना योजनामा बढी बेरुजु हुने गरेको भेटिएको हो ।

खानेपानी, सिँचाइ, सडक मर्मत तथा कार्यक्रम गर्दा बिल भुक्तानीमा प्रक्रिया नपुग्दा ठुलो रकम बेरुजुमा परेको थियो । बेरुजु बढ्दा सङ्घीय र प्रदेशका योजना ल्याउन पनि कठिन भएकामा बेरुजु घटेपछि मात्र काम गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो । ‘‘जनप्रतिनिधिले काम गरे पनि प्रक्रिया पुर्‍याउने काम कर्मचारीको हो,’’ उहाँले भन्नुभयो, ‘‘दक्ष कर्मचारी नभए काम गरेर पनि नराम्रो बन्नुपर्ने रहेछ ।’’ पुन आएपछि एकाएक चार वर्ष देखिको बेरुजु घटेको अध्यक्ष घर्तीले बताउनुभयो ।

गाउँपालिकाले बेरुजु सम्परीक्षण समिति बनाएर सबै काम र भुक्तानीको खोजी गर्दा चार यताको समस्या समाधान भएको प्रशासन प्रमुख दिलीपकुमार चन्दले बताउनुभयो ।

पालिकाले चालु वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको संयोजनमा अध्ययन मामिला तथा व्यवस्थापन समिति गठन गरेर सुशासनको प्रवर्धन कार्यक्रम थालेको थियो । ‘‘यो समितिले पहिलो काम बेरुजु घटाउने, दोस्रो बेरुजु आउने गरी काम नगर्ने लक्ष्य राखेको थियो ।’’

त्यस्तै साहेक लेखा हरि बुढाले भन्नुभयो, ‘‘समस्या आएमा तत्काल टिम बसेर सल्ट्याउने काम गरेका छौं ।’’ कार्यालयमा आएका सेवाग्राहीको कागजात नपुगेको भए एक दिन रोकेर सबै कागजात पुगेपछि मात्र भुक्तानी गराउने काममा समितिले सहजीकरण गर्न थालिएको र पालिकामा सबै युवा पुस्ता टिम भएकाले काम गर्न सजिलो भएर यो प्रतिफल आएको र यसैमा राजनीति दलहरूले पनि साथ दिएमा समृद्धि पालिका बनाउन सकिने बताउनुभयो ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *