सिकाइमैत्री वातावरण बनाउन ताप्लेजुङको मैवाखोला गाउँपालिकाद्वारा शिक्षकलाई तालिम दिन सुरु

राम्रो पालिका संवाददाता 51

चन्द्र पन्दाक

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सिकाइमैत्री विद्यालय वातावरण निर्माण गर्न शिक्षकलाई तालिम दिन सुरु गरिएको छ। गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री वातावरण निर्माण गर्न आधारभूत तहका शिक्षकलाई बिहीबारदेखि पाँच दिने तालिम दिन सुरु गरिएको हो।

शैक्षिक गुणस्तर सुधार गर्न बृहत शैक्षिक सम्मेलन लगायतका कार्यक्रम (गतिविधि) गर्दै आएको गाउँपालिकाले शिक्षकलाई सिकाइमैत्री वातावरण निर्माणमा केन्द्रित तालिम दिन थालेको हो। ‘गुणस्तरीय शिक्षाका लागि सिकाइमैत्री विद्यालय’ भन्ने नारासहित आधारभूत तहका शिक्षकहरुलाई तालिम दिन थालेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो।

पछिल्लो समय खस्किँदै गएको शिक्षामा सुधार अनिवार्य भएकाले शिक्षकलाई सिकाइमैत्री तालिम दिन सुरु गरिएको अध्यक्ष वनेमले बताउनुभयो। उहाँका अनुसार गुणस्तरीय शिक्षा तथा शैक्षिक सुधार केन्द्रित तालिमबाट प्राप्त सीप र दक्षतालाई आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउनुपर्ने छ। आगामी नयाँ शैक्षिक सत्रदेखि शिक्षकहरुले तालिमबाट प्राप्त सीप र दक्षतामा आधारित शिक्षण गर्नुपर्ने उहाँको भनाइ छ।

तालिममा आधारभूत तह (कक्षा १–८) सञ्चालित पालिकाभरका विद्यालयमा कार्यरत करिव ११५ जना शिक्षक सहभागी भएका गाउँपालिकाका प्रवक्ता एवम् १ नम्बरका वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो। तालिमको सहजीकरण भने राष्ट्रिय शिक्षा अभियान नेपालका संयोजक अभिषेक घिमिरे, विषय विज्ञ अर्जुन भट्ट र कमला देवकोटाले गरिरहनुभएको छ।

गाउँपालिकाले यही चैत २७ गते सीपमा आधारित बृहत सिकाइ मेला आयोजना गर्ने भएको छ। अभिभावक, शिक्षक, विद्यार्थी, बुद्धिजीवी लगायतको सहभागितामा सिकाइ मेला आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष वनेमले बताउनुभयो। यसअघि गाउँपालिकाले पालिकाभरका बाल विकास केन्द्रका शिक्षक (बाल विकास सहयोगी कार्यकर्ता) लाई ६५ दिने मन्टेस्वरी सिकाइसम्बन्धी तालिम प्रदान गरेको थियो। चैत पहिलो साता सम्पन्न भएको सो तालिममा पालिकाभरका २६ जना बाल विकास सहयोगी कार्यकर्ताले सहभागिता जनाएका थिए।

त्यस्तै गत जेठ महिनामा गुणस्तरीय शिक्षा र शैक्षिक सुधारको योजना बनाई गाउँपालिकाले बृहत शैक्षिक सम्मेलनको आयोजना गरेको थियो। पालिकाभरका अभिभावक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाको सहभागितामा शैक्षिक सम्मेलन सम्पन्न गरिएको थियो।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *