फूल बिक्री नहुँदा धनुषाका किसान चिन्तित

राम्रो पालिका संवाददाता 82

विजयकुमार साह

ढल्केबर। धनुषाको धनुषाधाम नगरपालिका–३, तेजनगरकी मानकुमारी भण्डारीले वार्षिक १५ हजार रुपियाँमा १० कट्ठा जमिन भाडामा लिएर गेंदा फूल खेती गर्दै आउनुभएको छ । उहाँले खेत जोत्नेदेखि बिरुवा रोप्ने, मल हाल्ने, सिँचाइ गर्ने लगायतका काममा वार्षिक झण्डै ५० हजार रुपियाँ खर्च गर्नुहुन्छ । तर उहाँले उत्पादन गर्नुभएको फूल बिक्री नहुँदा खेतमै ओइलिन थालेको छ।

उहाँका श्रीमान् विष्णुदेव माली वैदेशिक रोजगारीमा जानुभएको छ । मानकुमारीको दुई छोरा र एक छोरीसहित परिवारको गुजारा जेनतेन चलेको छ । उहाँले भन्नुभयो, “फूल बिक्री भए केही राहत हुन्थ्यो तर अहिले त बजारमै फूल बिक्दैन ।” हामीले उत्पादन गरेको फूल बजारमा नबिक्नुको मुख्य कारण भारतबाट तस्करी भएर आउने फूल रहेको उहाँको भनाइ छ ।

मानकुमारीका अनुसार फूल खेतीबाट आउने आम्दानीले छोराछोरीको पढाइ र खानपिनको जोहो त हुन्छ तर बचत भने हुन सक्दैन । “भारतबाट फूल नआउने हो भने हाम्रो फूलले पनि राम्रो बजार पाउँथ्यो त्यसो भएको भए श्रीमानलाई पनि विदेश जानु पर्दैनथ्यो,” उहाँले भन्नुभयो । उहाँले भारतको कलकत्ता, पटना, दरभङ्गाजस्ता स्थानबाट सस्तोमा फूल नेपाल भित्रिने गरेको बताउनुभयो । जिल्लामा फूलको मुख्य बजार जनकपुरधाम रहेको बताउँदै त्यहाँका व्यापारीले पनि सीमा पारबाट फूल ल्याउने गरेकाले यहाँको उत्पादनले मूल्य नपाएको गुनासो सुनाउनुभयो ।

आफूले उत्पादन गरेको फूल धनुषधामस्थित धनुष मन्दिर नजिकै फूलको माला बनाएर बेच्ने गरेको मानकुमारीले बताउनुभयो । फूल उत्पादन र बेचबिखनमा जेठो छोरा रविन्द्र मालीले सघाउने गरेको उहाँले बताउनुभयो ।

उहाँको जेठो छोरा रविन्द्रले भारतबाट अवैध तरिकाले आयात हुने फूलका कारण यहाँका फूल उत्पादक निराश बनेको बताउनुभयो । उहाँले आफूले उत्पादन गरेको फूल बिक्न छोडेपछि धनुष मन्दिर अगाडि माला बनाएर बेच्ने गरेको बताउँदै एउटा माला २० देखि ४० रुपियाँमा बिक्री हुने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेको फूल त खेतमै सड्छ भारतबाट आएको फूलचाहिँ बजारमा बिक्री हुन्छ ।”

स्थानीय चन्दन भण्डारीले अनुसार धनुषाधाम क्षेत्रमा करिब सात÷आठ जना किसानले १० कट्ठादेखि एक बिघासम्म जमिनमा व्यावसायिक फूल खेती गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट आउने फूलले यहाँ उत्पादन भएको फूलले बजारमा स्थान पाउन सकेको छैन । जबसम्म अवैध फूल आयात रोकिँदैन तबसम्म यहाँको किसानको अवस्था सुधार हुँदैन ।”

यसैगरी, सबैला नगरपालिका–९, सतोषरका रविन्द्र मालीले पनि गेंदा फूल खेती गर्दै आउनुभएको छ । करिब एक बिघा खेतमा उहाँले गेंदा फूल लगाउनुभएको छ तर बजार अभावका कारण फूल बिक्री नभएपछि बोट नै उखेल्ने सोच बनाउनुभएको छ । “फूल बजार जनकपुरधाम हो तर त्यहाँ भारतीय फूल सस्तोमा आयात हुन्छ जसले गर्दा हाम्रो फूल कसैले किन्दैन,” उहाँले दुखेसो पोख्नुभयो ।

स्थानीय सञ्चारकर्मी मुकेशकुमार ठाकुरले भारतबाट तस्करी भएर आउने सस्तो फूलले गर्दा स्थानीय किसानको फूल बजारमा ओझेलमा परेको बताउनुभयो । उहाँका अनुसार यसले गर्दा स्थानीय फूल उत्पादनक किसान आर्थिक रूपमा प्रभावित भइरहेका छन् । फूल नबिकेपछि खेतमै ओइलिने अवस्था सिर्जना भएको छ । जसले किसानहरूको मनोबलसमेत कमजोर बनाएको उहाँको भनाइ छ ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *