कोशी प्रदेशमा ४६ परियोजनाकालागी एक खर्ब ५२ अर्बको लगानी प्रतिबद्धता

राम्रो पालिका संवाददाता 45

शशिधर पराजुली
विराटनगर। प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलनमा ४६ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । सरकार र लगानीकर्ताहरुबिच ती परियोजना सञ्चालन गर्ने विषयमा द्विपक्षीय समझदारी पत्रमा शुक्रबार साँझ हस्ताक्षर भएको छ ।

कोशी प्रदेश लगानी प्राधिकरण र लगानीकर्ताहरुका बिचमा ती ४६ वटा परियोजनामा एक खर्ब ५२ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको लगानी सम्मेलन समापन समारोहमा जानकारी दिइएको छ । समारोहमा कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइराला र लगानीकर्ताले हस्ताक्षर गरी समझदारी पत्र हस्तान्तरण गरिएको थियो ।

लगानी सम्मेलनमा कोदोको रक्सी बनाउने उद्योगदेखि व्यावसायिक कृषि फार्म, कृषिमा आधारित उद्योगहरु, बेसार प्रशोधन, छुर्पी उत्पादनदेखि कफी उत्पादनसम्म, जैविक मल उत्पादनदेखि एग्रो टुरिजम र पर्यटन तर्फ बर्जुताल पर्यटकीय क्षेत्र विकाससम्मका परियोजनाका क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाइएको छ ।

लगानी सम्मेलनमा लगानीकर्ता केपी सिटौलाले २२ करोड लगानीमा देउमाई कफी फार्मिङ प्रोजेक्ट सञ्चालन गर्ने सम्झौतामा पहिलो हस्ताक्षर गर्नुभएको थियो ।

त्यसैगरी, टर्मरिक प्रोडक्सन एण्ड प्रोसेसिङ सेन्टर बराह क्षेत्रका सञ्चालक केशव घिमिरेले १९ करोड रुपियाँ लगानीमा बेसार उत्पादन तथा प्रशोसन परियोजना, गिरिराज बस्नेतले ग्रिनयार्ड एग्रो फार्म सञ्चालन गर्न ४५ करोड रुपियाँ, इलामकी कुसुम दाहालले ८० करोड रुपियाँ लगानीबाट एड्भान्सिङ नेप्लिज टि एण्ड कफी प्रोजेक्ट सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यसैगरी, नेत्रप्रसाद भण्डारीले १८ करोड लगानीमा छुर्पी प्रोजेक्ट, राजन शर्माले २७ करोड लगानीमा साइट्रस ट्रुथ फार्मिङ एण्ड एग्रो टुरिजम, धनकुटामा बिष्णु अग्रवालले किबी फार्मिङ एण्ड प्रोसेसिङ इन्डस्ट्रिज, ६४ करोड लगानीमा धनकुटा एभोकाडो फार्मिङ प्रोसेसिङ इण्डष्ट्रिज एण्ड एग्रो टुरिजममा लगानी प्रतिबद्धता सम्झौता गर्नुभएको छ ।

विराटनगरका उद्योगी पवनकुमार सारडाले एक अर्ब ६० करोड लगानीमा सुनसरीमा पशुपति इनर्जी प्रोजेक्ट सञ्चालन गर्ने, उदयपुरमा राजेन्द्र श्रेष्ठले पाँच अर्ब ६० करोड रुपियाँ लगानीमा एग्रोभल्टिक सोलार प्रोजेक्ट, संखुवासभा राजन निरौलाले पाँचखपन हाइड्रोपावर कम्पनीबाट १४२ करोड रुपियाँ लगानी गर्ने सम्झौता भएको छ । यस्तै प्रेसिडेन्ट एग्रोटेकमा शम्भुबाबु कोइरालाले २० करोड, शिवशक्ति वायोटेक मोरङमा अनन्तराम खतिवडाले २७ करोड, हर्बल प्रोसेसिङ प्लान्ट प्रोजेक्ट मोरङमा उदय बरालले ११६ करोड रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यस लगानी सम्मेलनमा नयाँ परियोजनाको रुपमा कोदाको रक्सी प्रोजेक्टले प्रदेश सरकारसँग लगानी सम्झौता गरेको छ । कोदोको रक्सी उत्पादन गर्न आवश्यक कानुन निर्माण नभइसकेको भए पनि सरकारले त्यसलाई ब्राण्डिङ गर्दै उत्पादन तर्फ अगाडि बढ्न सोलुखुम्बु तिलिचो पिक फुड एण्ड ड्रिङ्क प्रा.लि.का जनक राईले ४० करोड लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो ।

कोशी प्रदेश सरकारले लगानी सम्मेलनमा ७४ वटा परियोजना सोकेसमा राखेको थियो । त्यसमध्ये ४६ वटा परियोजनामा लगानी प्रतिबद्धता जुटेको सरकारले जनाएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा भएको कोशी प्रदेश लगानी सम्मेलनको समापन समारोहमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, पूर्व मुख्यमन्त्रीहरु, सरकारका मन्त्रीहरु तथा विशिष्ट पाहुनाहरुको उपस्थिति थियो । गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *