बाजुराको विकट क्षेत्रमा पर्ने सुपखोलामा पुल निर्माण भएपछि स्थानीय खुसी

राम्रो पालिका संवाददाता 49

शेरबहादुर सार्की

बाजुरा । बाजुराको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं–५ र–२ को बीचमा रहेको सुपखोलामा झोलुङ्गे पुल निर्माण हुँदा यती बेला यहाँका स्थानीय निकै खुसी बनेका छन् ।

जिल्लाकै विकट क्षेत्रमा पर्ने सुप खोलामा लामो समयदेखि पुल निर्माण नहुँदा यहाँका क्वीडि, रुम्दी, कोट, विच्छ्यालगायतका स्थानीयवासीलाई वर्षाको समयमा वारपार गर्न निकै सास्ती खेप्दै आउनु परेको थियो ।

हिमाली गाउँपालिकाले यती बेला उनीहरुको त्यो समस्यालाई मध्यनजर गर्दै यहाँ १२० मिटर लम्बाई झोलुङ्गे पुल निर्माण गरेसँगै वर्खाको समय खोला तर्न निकै सहज हुने भयो भन्दै उनीहरु निकै हर्षित भएको सुपखोला झोलुङ्गे पुल निर्माण आयोजनाका अध्यक्ष ज्ञानी बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुपखोला हिमाली गाउँपालिकाको वडा नं.–५ र–२ को बीचमा पर्छ । यो खोलामा पुल नहुँदा यहाँका स्थानीलाई लामो समय देखि वर्खाको समय खोला तर्न निकै सहस्या हुने गरेको थियोे ।”

आर्थिक वर्ष २०७८/७९ काम सुरु भएपनि पुल निर्माण को काम भने २०८२ जेठ १० गते मात्र सम्पन्न भएको पीसविन नेपालका प्राविधिक अधिकृत खडक राज जैशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पीसविन नेपालको सामाजिक तथा प्राविधिक र हिमाली गाउँपालिकाको आर्थिक सहयोगमा १२० मिटर लम्बाई पुल निर्माण भएको हो । यसको सबै लागत ७६ लाख २७ हवजार ६३३ रुपियाँ रहेको छ ।”

यो पुल निर्माण भएसँगै अब बाजुरामा झोलुङ्गेपुलको सङ्ख्या १४५ पुगेको छ । अझै ६ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । यी सबै पुल निर्माण भएपछि यहाँ झोलुङ्गेपुलको सङ्ख्या १५१ पुग्ने छ । यहाँका निर्माण भएका यी सबै पुलको प्राविधिक र सामाजिक सहयोग पिसविन नेपालको रहेको जैशीले बताउनुभयो ।

हिमाली गाउँपालिका जिल्लाकै एक विकट ठाउँमा पर्दछ । यहाँका क्वीडि रुम्दी विच्छ्या कोट त्यो भन्दा अति दुर्गम रहेका छन् । यहाँका स्थानीयको लामो समय देखिको समस्या भनेको नै सुपखोलामा झोलुङ्गे पुल निर्माण गर्नुपर्ने थियो ।

उनीहरुको त्यो समस्या समाधान हुने गरी हामीले गत आर्थिक वर्षमा २०७८/०७९ मा पुल निर्माणका लागि रकम विनियोजन गरेका थियौ ।

२०८२ साल जेठ १० गत पुल निर्माणको सबै काम पुरा भएपछि एक कार्यक्रमका साथ आफैले त्यो पुलको औपचारिक रुपमा उद्धघाटन गरेको छु । सुपखोलामा निर्माण भएको यो पुलले अब देखि यहाँका वडा नं १, २, ३ र ५ का स्थानीयको वर्खाको समय ज्यान जोखिममा राखेर खोला तर्नु पर्ने त्यो समस्या समेत हटेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिमाली गाउँपालिकाले स्वास्थ्य, शिक्षा,सडक विद्यतु खानेपानी लगायतका भौतिक पुर्वाधार विकासका क्षेत्रमा पहिलो प्राथमिकता दिदै आएको छ । पछिल्लो समय यहाँका दुर्गम गाउँ बस्तीमा बत्ती खानेपानी स्वास्थ्य शिक्षा तथा सडकको सुविधा भएसँगै अहिले यहाँका स्थानीयले गाउँमा सुगमको महसुस गर्न थालेका छन् ।”

जनताको कामका लागि हामी यहाँ आएकोले यहाँका स्थानीयको चाहाना अनुरुपमा नै हामीले काम गर्दै आएपछि पछिल्लो समय यहाँका स्थानीयबासीले गाउँमा सुगमको समेत आभास गर्न थालेको अध्यक्ष मल्लले बताउनुभयो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *