मलामीसहितको शववाहन सहित स्थानीयको शोकमा साथ दिँदै लमजुङको सुन्दरबजार नगरपालिका

राम्रो पालिका संवाददाता 41
default

लमजुङ। स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शव वाहन सेवा प्रभावकारी बनेको छ।

पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान अन्तर्गत हालसम्म १३५ जनाले सुविधा लिएका छन्। नगरभित्र कसैको मृत्यु भएपश्चात सम्बन्धित वडा अध्यक्षमार्फत नगरपालिकामा खबर गरिएपछी मलामीसहितको शववाहन उक्त घरमा पुर्‍याउने गरिएको छ। संस्कार गरिसकेपछि पुनःमलामीलाई घर छाडेर फर्कने व्यवस्था गरिएको छ। यो सेवा मृतकको अन्त्येष्टि प्रक्रियालाई व्यवस्थित, सहज र सम्मानजनक बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा थप व्यवस्थित बनाइएको जानकारी दिँदै शव वाहनमा मलामीका लागि बसलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताउनुभयो। यस सेवाले शोकमा परेका परिवारलाई केही राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाइ छ।

नगर प्रमुख कृष्णप्रसाद कोइरालाले सामाजिक उत्तरदायित्वको भावनाले यस कार्यक्रम सुरु गरिएको बताउनुभयो। मृतकप्रति सम्मान र परिवारप्रति सहानुभूति व्यक्त गर्न मलामीसहितको शव वाहन सेवा सुरु गरेको उहाँको भनाइ छ।

नगरपालिकाले आगामी दिनमा सेवा अझ प्रभावकारी र पहुँचमैत्री बनाउन तयारी गरिरहेको जनाएको छ।गोरखापत्र अनलाईन

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *