हाते ट्याक्टर पाएपछि नवलपरासी सुनवनस्थित दुर्गम क्षेत्रका स्थानीय खुशी

राम्रो पालिका संवाददाता 48

कल्पना खरेल

सुनवल। नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिका ११ का ६५ वर्षीया मानबहादुर पुलामी हाते ट्याक्टर पाएर मख्ख हुनुहुन्छ । उहाँलाई मेसिनरी औजारले पनि खेती गर्छन् भन्ने कुरा अहिलेसम्म थाहै थिएन । मानबहादुर भन्नुहुन्छ, “बजारतिर किनमेल गर्न झर्दा गाइँगुइँ सुन्ने गर्थे, अहिले प्रत्यक्ष देख्दा दङ्ग छु । पुलामीको सात पुस्ताले गोरुले जोतभोग गरी खेती गर्दै आएका थिए ।

उहाँमात्र होइन धुर्कोद फेदीका ५७ वर्षीया चेतबहादुर ठाडा मगर धान रोप्ने समयको मुखमा स्थानीय तहले हाते ट्याक्टर वितरण गर्दा निकै हर्षित हुनुहुन्छ । चेतबहादुर भन्नुहुन्छ “हल गोरु पाल, घामपानी नभनी घाँस खुवाउनुपर्ने, खेताला बढी लाग्दा खर्चिलो हुने निकै समस्या थियो । अहिले हाते टेक्टर पाउदा खर्चिलो कम हुने, उब्जाउ बढी हुन्छ कि भन्ने आश पलाएको छ ।”

त्यसैगरी लामो समयदेखि बेमौसमी तरकारी खेती गर्दै आउनुभएका माथिल्लो धुर्कोटका ५५ वर्षीया हरिबहादुर बारघरेलाई हाते ट्याक्टरले सहज र सरल तरिकाले खेती गर्न पाउने आशा पलाएको छ । उहाँले बाँझो जग्गामा पनि अब जोतभोग गरेर बेमौसमी तरकारी खेती गर्ने सोच बनाउनुभएको छ । हरिबहादुर भन्नुहुन्छ “ हाते ट्याक्टर पाउँदा मलाई काम गर्ने अझ उर्जा थपेको छ । अनुभव नयाँ छ, राम्रो भयो भने तरकारी खेतीलाई बढाउँछु, १–२ जनालाई रोजगार पनि दिन्छु ।”

सुनवल नगरपालिकाले अति विकट क्षेत्र मानिने वडा नम्बर ४ स्थित चार गाउँमा कृषि औजार अन्तर्गत हाते ट्याक्टर वितरण गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत बजेट अन्तर्गत धुर्कोदफेदी, माथिल्लो धुर्कोट, बेहोरे र मिजा दमार गाउँमा करिब साढे ७ लाख बराबरको हाते ट्याक्टर वितरण गरिएको हो ।

सामूहिक भावनाको विकास गर्ने परिकल्पनासहित ८ जना बराबर १ हाते ट्याक्टर गरी करिब ८० घरधुरीलाई समूहमा विभाजन गरेर १० वटा हाते ट्याक्टर वितरण गरिएको वडा नम्बर ११ का वडा अध्यक्ष कमलप्रसाद चुवाईले बताउनुभयो ।

अनुदानमा वितरण गरिएको हाते टेक्टरको पूर्ण स्वामित्व समूहको रहने हुदा त्यसको प्रयोगदेखि मर्मत सम्भारकाे जिम्मा समूहको रहनेछ । नगरप्रमुख विमला अर्यालले कृषिलाई प्राथमिकतामा राखेर स्थानीयवासीको जिवनस्तरमा सुधार ल्याउन कृषियन्त्र वितरण गरिएको बताउनुभयो । उहाँले पाएको उपकरणलाई राम्रोसगँ सदुपयोग गर्न आग्रह गर्दै उत्पादनमा वृद्धि गर्न सुझाव दिनुभयो ।

प्रतिक्रिया (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *